
मालदा, 26 नोभेम्बर (हि.स.)। मालदामा गए मंगलवार अबेर राती एकजना पापड़ बिक्रेताको घर फर्किरहेको बेला उपद्रवीहरूले गोली दागी हत्या गरिदिए। घटना कालियाचक थाना अन्तर्गत जालालपुर ग्राम पञ्चायतको लतिफपुर निकट निचेरकांदी क्षेत्रमा भएको हो। मृतकको नाम अजहर अली हो।
पुलिस औ स्थानीय सूत्र अनुसार गए मंगलवार राती लगभग 9 बजे अजहर अली एक समारोहमा पापड़ बेचेर साइकलमा घर फर्किरहेका थिए। तिनी 12 नम्बर राष्ट्रिय राजमार्गमा जदुपुर तर्फ अगाड़ि बढ़िरहेका थिए, सड़क किनारमा ढुकेर बसेका केही उपद्रवीहरूले तिनीमाथि हमला गरे। आरोप छ, उपद्रवीहरूले उनको पैसा र साइकल लुट्ने प्रयास गरे। अजहरले भाग्ने प्रयास गर्दा अपराधीहरूले तिनको शिरमा गोली दागे। अजहर घटनास्थलमै रगताम्मे भएर लड़ेपछि उपद्रवीहरूले साइकल र पैसा लिएर घटनास्थलबाट सुइँकुच्चा ठोके।
स्थानीय मानिसहरूले तिनलाई तुरून्तै मालदा मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याए, तर डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। कालियाचक थानाबाट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
पुलिसको प्रारम्भिक जाँचमा थाहा लागे अनुसार अपराधीहरूले अजहर अलीलाई बाटोमा छेकेर तिनको पैसा लुटे। तिनले विरोध गर्दै भाग्ने चेष्टा गर्दा उपद्रवीहरूले गोली चलाए। मृतकको उमेर लगभग 55 वर्ष रहेको बताइएको छ।
स्थानीय मानिसहरूले राती हुने पुलिसको पेट्रोलिंगमाथि प्रश्न तेर्साएका छन्। उनीहरूको भनाइ छ, राष्ट्रिय राजमार्गमा पुलिस भए पनि जदुपुर र निचेकार्दी क्षेत्रमा साँझ पर्नसाथ उपद्रवीहरूले भेला भएर बटुवा, बाइक सवार तथा कार चालकहरूलाई लक्षित गर्ने गर्दछ। कैयौं पटक सिकायत दर्ता गरिसकिएको भए पनि पुलिसको पक्षबाट कुनै ठोस कारबाही गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
