गान्तोक, 14 दिसम्बर (हि.स.)। आध्यात्मिक गुरु परमपावन 14औं दलाई लामा बिहिवार आफ्नो तीन दिवसीय भ्रमणपछि सिक्किमबाट फर्किएका छन्। राजधानी छेउ लिबिङस्थित सेनाको हेलीप्याडबाट उनी हेलीकप्टरमा सालुगढ़ा (पश्चिम बंगाल) प्रस्थान भए। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, विधानसभा अध्यक्ष अरुण उप्रेती, मुख्य सचिव वीबी पाठक, डीजीपी एके सिंह तथा सिक्किम सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
परमपावन दलाई लामा 11 दिसम्बरका दिन सिक्किम आएका थिए। उनले 12 दिसम्बरका दिन राजधानीको पाल्जोर स्टेडियममा आयोजित बोधिसत्वका 37 अभ्यासमाथि आफ्नो धार्मिक प्रवचन दिएका थिए। उक्त कार्यक्रममा सिक्किम लगायत देशका विभिन्न राज्यहरूबाट हजारौंको संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो। यसैगरी, 13 दिसम्बरका दिन उनी सम्मान भवनमा आयोजित एक सम्मान समारोहमा सहभागी बनेका थिए।
परमपावन दलाई लामा आज बिहान राजधानी गान्तोकबाट सालुगढ़ा (पश्चिम बंगाल) को निम्ति प्रस्थान भए। सालुगढ़ामा पनि उनको एक धार्मिक प्रवचन कार्यक्रम निर्धारित रहेको छ। यस अघि दलाई लामा वर्ष 2013 मा अन्तिमपल्ट सिक्किम आएका थिए।
हिन्दुस्थान समाचार/बिशाल
