नयॉं दिल्ली, 23 फरवरी : लोकसभा अध्यक्ष ओम बिरलाले महाराष्ट्रका पूर्व मुख्यमन्त्री एवं पूर्व लोकसभा अध्यक्ष मनोहर जोशीको निधनमा शोक व्यक्त गरेका छन्। उनले दिवंगत नेतालाई श्रद्धाञ्जली दिॅंदै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
ओम बिरलाले आज बिहान आफ्नो एक्स ह्यान्डलमा भने, ‘पूर्व लोकसभा अध्यक्ष एवं वरिष्ठ राजनेता मनोहर जोशीको निधनमा शोक व्यक्त गर्दछु। लोकतान्त्रिक मूल्यहरूलाई समृद्ध बनाउॅंदै उनले श्रेष्ठ संसदीय परम्पराहरू स्थापित गरे। सदन सञ्चालन गर्ने विशिष्ट र निष्पक्ष शैलीका कारण उनलाई सबै दलका नेताहरूको सम्मान प्राप्त थियो।’
वरिष्ठ भाजपा नेता एवं लोकसभा अध्यक्ष बिरलाले भने, ‘उनको कार्यपद्धतिको अध्ययनले सदनलाई सुचारू रूपमा सञ्चालन गर्न मलाई मार्गदर्शन प्राप्त भयो। उनको निधन मेरो निम्ति पनि व्यक्तिगत क्षति हो। ईश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरुन्। असीम पीड़ाको यस समयमा मेरो समवेदना शोकाकुल परिवारसॅंग छ।’
