गान्तोक, फरवरी : गत 8 जनवरीदेखि शुरू भएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्टीस्तरीय सांगठनिक सभा आज अप्पर बुर्तुक निर्वाचन क्षेत्रमा सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा मन्त्री सञ्जीत खरेल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सञ्जीत खरेलले पूर्व मुख्यमन्त्री पवन चामलिङले पनि पाकिम र सोरेङलाई जिल्ला बनाउँछु भनेर घोषणा गरेका थिए, तर फेरि क्राइटेरिया पुगेन भनेर जिल्ला नबनाएको बताए। यदि एसकेएम पार्टीलाई 25 वर्ष दिएको खण्डमा जनता नेताको घरमा होइन्, नेता जनताको घरमा पुग्ने जानकारी गराए। एसकेएम सरकारले 35 वर्षसम्म सरकार सञ्चालन गर्ने पनि मन्त्री खरेलले दावी गरे।
वर्ष 2019 मा धेरै मानिसहरूले डराएर एसकेएम पार्टीमा मत खसालेनन्, किनभने धेरै मानिसहरू तत्कालिन सरकारसमक्ष आश्रित थिए। अब एसकेएम पार्टी पुनः सरकारमा आएको खण्डमा समावेशी राजनीति बन्द गर्ने पनि उनले जानकारी गराए। एसकेएम सरकारले बेरोजगार युवाहरूलाई वाहन प्रदान गर्दा एसडीएफ पार्टीका नेता रिसाउछन्, तर पूर्व सरकारले केवल टच लाइट मात्र वितरण गरेको उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले बुर्तुक निर्वाचन क्षेत्र एसकेएम पार्टीको निम्ति अति नै महत्वपूर्ण क्षेत्र रहेको बताए। विशेष गरेर वर्ष 2014 को चुनाउमा यस निर्वाचन क्षेत्रले वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई जिताएर विधायक बनाएकोमा उनले यस निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद दिँदै आभार प्रकट गरे। पूर्व मुख्यमन्त्री पवन चामलिङले वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई विभिन्न निर्वाचन क्षेत्रबाट उठाएर हराउने धेरै प्रयास गरेको खालिङले दावी गरे।
बुर्तुक निर्वाचन क्षेत्रबाट टिकट दिएपछि प्रेमसिंह तामाङलाई बदनाम गराउने उद्देश्यले कीर्ते पर्चा वितरण गरेर हराउने भरपुर प्रयास गरेको दावी गरे। तर चामलिङको षडयन्त्र 2009 मा पनि विफल भएको किटान गरे। वर्ष 2014 मा नै एसकेएम पार्टीले सरकार गठन गर्ने थियो, तर त्यसबेला एसकेएम पार्टीका कार्यकर्ताहरूको अनुभव कम भएको र चामलिङले एनके गुरूङको हत्या गराएर उनको लाशमाथि राजनीति गरेपछि एसकेएम पार्टी पराजित भएको उनले बताए।
एसकेएम नारीशक्तिकी अध्यक्ष कला राईले एसडीएफको कार्यकालमा नारीहरू असुरक्षित रहेको र सबै नारीहरूको इञ्जतसँग खेलवाड गरिएको आरोप लगाइन्। विशेष गरेर उक्त पार्टीका महिला विधायकहरू समेतलाई कीर्ते पर्चा बाँडेर उनीहरूको बेइज्जत गरिएको दावी गरिन्। तर एसकेएम पार्टी सरकारमा आएपछि कीर्ते पर्चा वितरण प्रकरण बन्द गरिएको उनले किटान गरिन्। अहिलेसम्म कुनै पनि नारीहरू विरूद्ध कीर्ते पर्चा वितरण गरेर चरित्र हनन नगरिएको उनले दाबी गरिन्।
