नयाँ दिल्ली, 07 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार 17औं ब्रिक्स शिखर सम्मेलनमा वैश्विक संस्थाहरूको व्यापक सुधारको आवश्यकतामा जोड दिँदै वर्तमान वैश्विक संरचनाहरू 21औं शताब्दीका चुनौतीहरूलाई सम्बोधन गर्न असमर्थ रहेको बताए। उनले भने, यी संस्थाहरू ‘नेटवर्क’ बिनाका सिम कार्डहरू जस्तै भएका छन्- उपस्थित छन् तर प्रभावहीन।
आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले भने, वैश्विक दक्षिण सधैं दोहोरो मापदण्डको शिकार भएको छ- चाहे त्यो विकासका अवसरहरू हुन्, स्रोतसाधनको वितरण होस् वा सुरक्षाका मुद्दाहरू। उनले भने, ‘जलवायु वित्त, दिगो विकास र प्रविधिमा पहुँच जस्ता प्रमुख क्षेत्रहरूमा वैश्विक दक्षिणले केवल देखावटी समर्थन प्राप्त गरेको छ, वास्तविक प्राथमिकता दिइएको छैन।’
मोदीले भने, 20औं शताब्दीमा स्थापित अन्तरराष्ट्रिय संस्थाहरूले आज विश्वको दुई तिहाई जनसंख्याको उचित प्रतिनिधित्व गर्दैनन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्, विश्व व्यापार संगठन र बहुपक्षीय विकास ब्याङ्क जस्ता संस्थाहरूमा संरचनात्मक सुधारको आह्वान गर्दै उनले भने, ‘हामीले हरेक हप्ता प्राविधिक अपडेटहरू स्वीकार गर्दा 80 वर्षसम्म वैश्विक संस्थाहरूले कुनै परिवर्तन बिना कसरी काम गर्न सक्छन्?’ उनले भने, 21औं शताब्दीको सफ्टवेयर 20औं शताब्दीको टाइपराइटरबाट चल्न सक्दैन। त्यसैले आधुनिकीकरण वर्तमानको माग हो र यसलाई पूरा गर्नु आवश्यक छ।
प्रधानमन्त्रीले सुधारहरू केवल प्रतीकात्मक मात्र हुनुहुँदैन, तर ठोस र वास्तविक परिणामहरू दिनुपर्छ भन्ने कुरा स्पष्ट पारे। उनले बहुध्रुवीय, समावेशी र जवाफदेही वैश्विक व्यवस्थाको आवश्यकतामाथि जोड दिॅंदै नीति निर्माणमा वैश्विक दक्षिणको आवाज पनि सुनिनु पर्छ भनी बताए।
प्रधानमन्त्रीले ब्रिक्स समूहको विस्तारलाई वैश्विक सुधारको उदाहरण बताउॅंदै यसमा इण्डोनेसिया जस्ता देशहरूको समावेशको स्वागत गरे। उनले भने, यो समूह अब केवल एउटा मञ्च मात्र रहेन, तर वैश्विक संरचनात्मक परिवर्तनको नेतृत्व गर्ने शक्ति बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
