गान्तोक, 04 जनवरी (हि.स.)। सिक्किम स्पोर्ट्स क्लाइम्बिङ एसोसिएशन (एसएससीए) का युवा खेलाड़ी विष्णु गुरुङले 27औं आईएमएफ नेशनल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनशील 2023 मा रजत पदक जितेर एशियन च्याम्पियनशीपको निम्ति आफ्नो स्थान सुरक्षित गर्न सफल भएकी छन्। जुनियर वर्गमा खेल्दै आएका खेलाडी गुरुङले यसै वर्ष पूर्वोत्तर क्षेत्रीय स्तरको आईएमएफ च्याम्पियनशीपमा बोल्डरीङ, स्पीड र लिडमा तीनवटा स्वर्ण पदक जितेर सिक्किमलाई पूर्वोत्तर राज्यमा श्रेष्ठ राज्य बनाउन सफल भएकी थिइन्।
खेलाड़ी विष्णु गुरुङ समेत एसएससीएका कार्यकारी समितिले हिजो सिक्किमका खेलकूद मन्त्री साम्डुप लेप्चालाई उनको सरकारी आवासमा भेटेर सफलताका बारेमा अवगत गरायो। यसैक्रममा मन्त्री लेप्चाले खेलाड़ी गुरुङलाई प्रोत्साहन राशि प्रदान गर्दै सम्मान गरेका थिए। उनले सिक्किममा बढ्दो स्पोर्ट क्लाइम्बिङ खेललाई निरन्तरता दिने र सरकारबाट प्रोत्साहन गरिरहने पनि आश्वासन दिए।
एसएससीएका अध्यक्ष कुञ्जाङ ग्याछो, मुख्य संयोजक प्रवीण खालिङ, महासचिव भाइचुङ योञ्जन र सचिव सुरेन गुरुङको दलले मन्त्री लेप्चालाई भेटेर गत दिसम्बर महिनामा सिक्किमले पूर्वोत्तर क्षेत्रीय स्तरको स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनशिप आयोजन गर्न सकेको विषयमा जानकारी गराउँदै एसोसिएशनले तयार पारेको रिपोर्ट प्रस्तुत गरेको थियो। यसैगरि, राज्य सरकारबाट प्राप्त सहयोगको निम्ति अध्यक्ष ग्याछोले मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्री लेप्चा र सिक्किम ओलम्पिक एसोसिएशनलाई आभार प्रकट गरे।
अर्कोतिर सिक्किम स्पोर्ट्स क्लाइम्बिङ एसोसिएशनले यो वर्ष क्षेत्रीय प्रतियोगितामा सिक्किमका सबै खेलाडीहरूलाई अवसर प्रदान गरिएको, तर अबउसो हुने प्रतियोगितामा भने सिक्किम बाहिरका राज्यहरूमा हुँदा केवल एसएससीएका सदस्यहरूले मात्र सहभागी हुने मौका पाउने भएको कारण सबै इच्छुक खेलाडीहरूले संगठनको सदस्यता लिएर अभ्यास र अन्य कार्य गर्नुपर्ने आह्वान पनि गरे।
संगठन, मुख्यमन्त्री र मन्त्रीप्रति आभार प्रकट गर्दै खेलाडी विष्णु गुरूङले अब एशियाली खेलको निम्ति तयारी शुरु गर्ने अनि हैदरावाद अभ्यासको निम्ति जाने बताइन्। यसको निम्ति सरकारको सहयोगको उनले अपेक्षा व्यक्त गरे। यसैगरि राष्ट्रिय प्रतियोगितामा पूर्वोत्तर राज्यबाट तीनवटा पदक प्राप्त गर्नेहरूमा सिक्किम पनि एक भएकोमा खुशी व्यक्त गर्दै एशियाली खेलमा पनि सिक्किमको नाम राख्ने ध्येयले अभ्यास गर्ने बताइन्।
हिन्दुस्थान समाचार
