गान्तोक, फरवरी : सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीमाथि चुनाउ नजिक फेरि पनि बेनामी र कीर्ते पर्चा बाँड़ेर सिक्किमेली समाज भाँड्ने प्रयासमा लागेको आरोप लगाएको छ। एसडीएफ पार्टीलाई कीर्ते पर्चाको जनक बताउॅंदै 1993 मा एसडीएफ पार्टी कीर्ते पर्चाको भरमा गठन भएको र पवन चामलिङको आदेशमा 25 वर्ष कीर्ते र अश्लील पर्चा छापेर सिक्किमेली समाजलाई भाँड्ने, जात तोड्ने, व्यक्ति-व्यक्तिको चरित्र हनन गर्ने काम गरेको थियो एसकेएमले गम्भीर आरोप लगाएको छ।
एसकेएम पार्टीले आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाएको छ। विज्ञप्तिमा अहिले फेरि एसडीएफ पार्टीले पवन चामलिङकै इशारामा चरित्र हत्या गर्ने प्रकारको कीर्ते पर्चा गाउँ-गाउँमा बाँड्ने अभियान थालेको एसकेएमले गम्भीर आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, दक्षिण सिक्किमको याङगाङमा अहिले एसडीएफले कीर्ते पर्चा छ्यापछ्याप्ती बॉंड्दैछ। विभिन्न व्यक्ति विशेषको चरित्र हत्या गर्ने उद्देश्यमा लेखिएका यस्ता पर्चा पोस्टको माध्यमद्वारा विभिन्न व्यक्तिको नाममा पठाइँदैछ।
एसकेएमले कीर्ते लेख्ने व्यक्तिहरूलाई झट्टभन्दा झट्ट पक्राउ गर्नुपर्छ भन्ने माग गर्दै एसकेएम पार्टीले याङगाङ पुलिस थाना र गान्तोकको सदर थानामा प्राथमिकी दर्ता गरिसकिएको जनाएको छ।
एसकेएमले भनेको छ, सिक्किम बचाउने नाममा सिक्किमलाई बद्नाम गराउन लागिपरेको एसडीएफको यस प्रकारको कुकत्यको एसकेएम पार्टी घोर विरोध र निन्दा गर्दछ। विगत 2019 मा एसकेएम पार्टीले सरकार गठन गरेपछि सिक्किममा कीर्ते पर्चाको संस्कृतिलाई निर्मूल पारेको एसकेएमले दाबी गरेको छ। एसडीएफको धरातल नै कीर्ते रहेको र अहिले एसडीएफको सिक्किम बचाऔं भन्ने नारा धरि कीर्ते रहेको एसकेएमले बताएको छ। एसडीएफले सोसियल मिडियामा फेक आईडी बनाएर अश्लील फोटोहरू पोस्ट गर्ने, अश्लील कुरा लेख्ने, नारीहरूको अस्मितालाई धुमिल पार्ने घिनलाग्दो राजनीति गरिरहेको पनि एसकेएमले आरोप लगाएको छ।
