खरसाङ, फरवरी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको मिशन जागरण कार्यक्रम अन्तर्गत महानदी ग्राम कार्यालय अघि धरना प्रदर्शन सम्पन्न गरियो। भागोप्रमो केन्द्रिय समितिको निर्देशनमा प्रत्येक ग्राम पञ्चायत क्षेत्रतिर आयोजन भइरहेको मिशन जागरण कार्यक्रम अन्तर्गत महानदी ग्राम पञ्चायतमा पनि धरना सम्पन्न गरिएको हो।
यस अवधि भाजपा सरकारले गोर्खाहरूको निम्ति केही नगरेको र 11 जातिलाई जनजातिको मान्यता पनि नदिएको भन्दै विरोध प्रदर्शन गरियो। भागोप्रमो कार्यकर्ताहरूले भाजपा विरोधी नाराहरू पनि लगाए। कार्यक्रमलाई पञ्चायत समिति सदस्या सरिता मुखिया, भागोप्रमो खरसाङ महकुमा सचिव प्रणाम रसाईली, तीनधारे महानदी समष्टीका सभासद एवं भागोप्रमो केन्द्रिय सदस्य नवराज छेत्रीले सम्बोधित गरेका थिए।
सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टीका सभापति राजीव थापाले भागोप्रमो तीनधारे महानदी समष्टीद्वारा मिशन जागरण कार्यक्रम गत 19 फरवरीदेखि घैयाबारी ग्राम पञ्चायत तीनबाट शुरु गरेर शिवखेला ग्राम पञ्चायत हुँदै आज महानदी ग्राम पञ्चायतमा आयोजन गरिएको बताए। उनले अब भागोप्रमो तीनधारे महानदी समष्टीद्वारा शाखा पसौं अभियान पनि गरिने बताएका छन्।
