खरसाङ। यसपालीको चुनाउमा गोजमुमोले क्षेत्रीय पार्टी बचाउनलाई नै भारतीय जनता पार्टीलाई समर्थन गरेको हो भनी गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको अध्यक्ष एवं बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले आफु भाजपाबाट राजीनामा दिएर गाजोमुममा गए पनि यसपालीको भोट देश बनाउने भोट भएकाले आफुले पार्टीको निर्देशन अनुसार राष्ट्रिय पार्टीलाई समर्थन गरेर अघि बढेको बताए।
उनले यसपालीको भोटमा सबैले भाजपालाई भोट दिएर देश चलाउन र देश बनाउन सहयोग गर्न अपील गरेका छन्। उनले यो भोट कुनै पार्टीको होइन, तर देश बनाउने भोट हो भनी बताए। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले यस भोटमा सबै मिलेर राष्ट्रिय पार्टीलाई समर्थन गर्नुपर्छ भन्दै यस चुनाउमा निर्दलीय प्रार्थीको रुपमा खड़ा हुनु कुनै औचित्य नरहेको बताए। उनले निर्दलीय प्रार्थीको रुपमा चुनाउमा खड़ा भएकाहरू सबै एकै मञ्चमा आएर राष्ट्रिय पार्टीलाई समर्थन गर्नु पर्ने सुझाउ राखे।
उनले भाजपा राष्ट्रिय पार्टी हो र यसपालीको चुनाउमा भाजपाको टेक नराम्रो छैन भनी बताए। उनले गोजमुमोको टेक केवल अलग राज्य हो र यसपाली गोजमुमोले क्षेत्रीय पार्टी बचाउनलाई नै भाजपालाई समर्थन गरेको दावी गरे। बौद्ध धर्म गुरु एवं गोजमुमो खरसाङ महकुमा समितिका अध्यक्ष पेम्बा रिम्पोर्छेले यसपालीको लोकसभा चुनाउमा निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका बीपी बजगाई विषयमा बोल्दै भने, बजगाई गोर्खाको छोरा हो भने विधायक पदबाट राजीनामा दिएर लोकसभा चुनाउमा उठ्नु पर्ने थियो। यदि उनले विधायक पदबाट राजीनामा दिएर चुनाउमा उठेको भए म पनि साथ दिने थिए। बोल्नुभन्दा बेसी काम गरेर देखाउनुपर्छ।
