खरसाङ, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिले आज खरसाङस्थित नयाँ बजारको टाउन हलमा चुनावी सभाको आयोजन गऱ्यो।
चुनावी सभालाई सम्बोधन गर्दै अनित थापाले भने, “1986 देखि पहाडले जति पनि उम्मेदवार पाए ती सबै माथिबाट थोपिएको उम्मेदवार थिए। पहाडको राजनैतिक इतिहासमा पहिलोपल्ट क्षेत्रीय दलको उम्मेदवारलाई राष्ट्रिय दलले समर्थन गरेको उम्मेदवार हुन् गोपाल लामा।“
उनले यसपालीको भोट निर्णायक भोट हो भन्दै भने, “पहाडमा हाम्रो (बीजीपिएम) जीत हुनु, गोपाल लामा जस्तो व्यक्ति अनि अभिभावक पहाडले पाउनु हो। हाम्रो लडाई विचारको लडाई हो, चिन्हको लडाई होइन। चिन्हलाई भोट होइन, विचार, सोच अनि गोपाल लामा जस्तो व्यक्तित्वलाई भोट हाल्नुहोस।“
उनले भोटको आह्वान् गर्दै भने, “यसपालीको भोट खरसाङको रोजगार, घर घरमा पानी आउने अनि खरसाङको विकासको भोट होस्। खरसाङको एकताको भोट, खरसाङलाई माया देखाउने भोट होस्। जातिको सुरक्षा, जातिको मायाको निम्ति हामीले यो मौका गुमाउनु हुँदैन। पहाडको सोचको परिवर्तनको निम्ति यसपाली एकजुट भएर भोट हाल्नु होस।“
