गान्तोक, 08 अगस्त (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले टेण्डोङ ल्हो रुम फातको पावन अवसरमा राज्यवासीहरू, विशेष रूपमा लेप्चा समुदायलाई हार्दिक शुभकामना तथा बधाई दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा लेप्चा समुदायको यस धार्मिक तथा आध्यात्मिक पर्वलाई लेप्चा किंवदन्तीअनुसार यस भूभाग (नेय मायल ल्याङ) लाई एक भीषण प्राकृतिक प्रकोपबाट बचाएको पवित्र तेन्डोङ पर्वत र ईश्वरप्रति श्रद्धा अर्पण गर्ने अवसर रहेको उल्लेख गरेका छन्। उनले ‘टेण्डोङ ल्हो रुम फात’ केवल आस्था र विश्वासको पर्वमात्र नभएर यो लेप्चा समुदाय र उनीहरूको पवित्र भूमिसँगको अटुट सम्बन्धको जीवन्त प्रतीक रहेको बतएका छन्।
मुख्यमन्त्रीले यस अवसरमा प्रकृतिप्रतिको सम्मान व्यक्त गर्ने र वातावरण संरक्षणको सङ्कल्प पुनः दोहोर्याउने दिन रहेको उल्लेख गरेका छन्। उनले सम्पूर्ण जनसमुदायलाई आफ्नो अमूल्य प्राकृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा समर्पित भएर अगाडि बढ्न पुनः आग्रह गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल
