नयॉं दिल्ली, 08 मार्च: सम्पूर्ण देशमा आज (शुक्रवार) महाशिवरात्रि पर्व मनाइॅंदैछ। बनारस, प्रयागराज, अयोध्याधाम, चित्रकूट, उज्जैन, हरिद्वार, ऋषिकेश, नासिक, मण्डी तथा सबै देवालयहरू र शिवालयहरूमा आस्थाको जनसमुद्र ओर्लिएका छन्। गंगा र अन्य नदीहरूका पावन तटहरूमा स्त्री, पुरुष, वृद्ध र नानीहरूले पवित्र स्नान गरेर भोलेनाथको पूजा अर्चना गरिरहेका छन्।
सम्पूर्ण काशी बाबा विश्वनाथको रंगमा रंगिएको छ। बनारसमा पर्वको उल्लास हरेक ठाउॅंमा छल्किरहेको छ। स्नान-ध्यान, पूजा-अर्चनादेखि लिएर भोग-आरती र विविध धार्मिक-सांस्कृतिक अनुष्ठानहरू शुरू भइसकेका छन्। मैदागिनदेखि बाबा विश्वनाथको भव्य-दिव्य र अद्वितीय जन्ती निकालिने छ। यसमा देवी-देवता, साधु-सन्त, यक्ष, गंधर्व, किन्नर, भूत-पिशाच, सर्प, बिच्छू आदि सबै सामेल रहनेछन्।
