खरसाङ, फरवरी : तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा आजदेखि नवज्योति संघ चुनभट्टीको आयोजनामा जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। आजको पहिलो खेल गैरी गाउँ तीनधारे र ढाका इलेभेन तीनधारेमाझ सम्पन्न भयो।
गैरी गाउँले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 8 विकेट गुमाएर 127 रन बनाएको थियो। गैरी गाउँको पक्षमा साहिल प्रधानले सर्वाधिक 78 रन बनाए। 128 रनको लक्ष्यलाई पछाउँदै ढाका इलेभेन तीनधारेले 11 ओभर 5 बलमा सबै विकेट गुमाएर 104 रन बनाए।
ढाका इलेभेनको पक्षमा दिपेस गजमेरले 21, विवेक प्रधानले 20 रन बनाएका थिए। गैरी गाउँको पक्षमा हुपर प्रधानले 4, सुमन लोहार 2, शाब्दिक प्रधानले 2 र प्रयास प्रधानले 1 विकेट लिए।
आजको खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित थिए। विशिष्ट अतिथिहरूमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान र शिवखोला ग्राम पञ्चायतको प्रधान मोहनकुमार प्रधान उपस्थित रहेका थिए।
आजको दोस्रो खेल बिन्दास बोइज पैनाकुमारी र जनसेवा संघ राजबारीमाझ भयो। टस जितेर पैनाकुमारीले पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 7 विकेट गुमाएर 192 रन बनायो। 193 को रनको लक्ष्यलाई खेदो गर्दै जनसेवा संघ राजबारीले 12 ओभर 1 बलमा केवल 94 रन बनाएर सबै विकेट गुमाएको थियो।
यस जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रञ्जित थापाले यस प्रतियोगिताको फाइनल खेल आगामी 17 मार्चको दिन हुने बताए। उनले यसपाली जम्मा 20 वटा जीटीए क्षेत्रका टीमहरूले अंश ग्रहण गरेको र यस टुर्नामेन्टमा ट्रफीसहित विजेतालाई पचास हजार र उप विजेतालाई तीस हजार प्रदान गरिने बताएका छन्।
