गान्तोक, 08 फरवरी: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले व्यवस्थित ढङ्गमा भ्रष्टाचार गरिरहेको आरोप विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले लागएको छ। एसडीएफ सरकारले आरम्भ गरिसकेको पूर्वाधार निर्माण कार्यहरूमा पैसा बढाएर एसकेएम सरकारले ठेक्काको काम राज्य बाहिराका ठुल्ठुला व्यापारीलाई दिने गरेको आरोप लगाउॅंदै एसडीएफले यसलाई कमिशन माफिया ठहर गरेको छ।
नाम्चीमा निर्माण हुँदै गरेको सामुदायिक भवनमा एसकेएम सरकारको वित्तीय अनिमियता खुलासा भएको एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ। एसडीएफले भनेको छ, सन् 2018 मा एसडीएफ सरकारले 19 करोड 34 लाख 90 हजार रुपियाँ 394 को लागतमा नाम्ची सामूहिक भवन निर्माण कार्य लगभग पूरा गरिसकेको थियो। एसकेएम पार्टी सरकारमा आएपछि उक्त भवन निर्माण कार्यको रकम बढाएर रुपियाँ 96 करोड, 99 लाख 17 हजार 65 रुपियाँ बनाएको छ। एसकेएम सरकारले लगभग 80 करोडको वृद्धि गरेर जनताको धनराशिको दुरुपयोग गरिरहेको छ।
एसडीएफले अन्य निर्माणाधीन परियोजनाहरूको पनि लागत खर्च हजार गुना बढाएर जनताको धनको व्यापक दुरुपयोग गरिरहेको आरोप लगाएको छ।
