गान्तोक: एसडीएफ पार्टीका एक वरिष्ठ नेता एवं सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राईमाथि हिजो (शुक्रवार) मल्लीको माझीगाउॅंमा भएको प्राणघातक हमलामा संलग्न छजना आरोपीलाई सिक्किम पुलिसले पक्राउ गरेको छ। घटनापछि पुलिसले रातभरि चलाएको खोज अभियानको क्रममा आरोपीहरूलाई कुभिन्डेको जङ्गलबाट पक्राउ गरेको छ।
पुलिस रिपोर्ट अनुसार, केएन राईलगायत डा. शिव कुमार शर्मा, चन्द्र खालिङ, भरत राई, बेन्जामिन राई, समिन खान, धन कुमार राई र उत्तम छेत्री हिजो माझीगाउॅं मल्लीबाट केराबारीतिर झर्दै थिए। दिउॅंसो लगभग 2ः30 बजी एउटा वाहनमा 6-7 जना बदमाशहरू आएर अचानक उनीहरूमाथि हमला गरे। यस घटनामा पूर्व मन्त्रीसमेत रहेका केएन राई गम्भीर रूपमा घाइते भए। आरोपीहरूले पीड़ितहरूको वाहन पनि तोड़फोड़ गरेका छन्।
यस घटनामा संलग्न आरोपीहरूलाई चिन्हित गरेपछि पुलिसले आफ्नो खोज अभियान चलायो। यस क्रममा पुलिसले छजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम डेविड राई, लक्ष्मण राई, जितेन राई, अवन तामाङ, सरोज थापा र करण तामाङ बताइएको छ। करण तामाङ मल्ली पश्चिम बंगाल निवासी हुन् भने अन्य पॉंच जना मल्ली गुम्पा सिक्किम निवासी हुन्।
आरोपीहरू विरूद्ध पुलिसले आईपीसीको धारा 341, 324, 326, 307, 427 अन्तर्गत मुद्दा दर्ता गरेको छ। पीड़ित शिव कुमार शर्मालगायत अन्यहरूले यस घटनाको सम्बन्धमा मल्ली थानामा शिकायत दर्ता गरेका छन्।
उल्लेखनीय छ, केएन राई अहिले सिलगढ़ीको स्थानीय एउटा निजी अस्पतालमा उपचाराधीन छन्।
