– वित्तीय साक्षरता भ्यानलाई झण्डा दिँदै र ब्रेल वित्तीय साक्षरता सामग्रीको अनावरण
नाम्ची, । ‘वित्तीय साक्षरता सप्ताह’ एक प्रमुख कार्यक्रम हो, जुन भारतीय रिजर्भ ब्याङ्क (आरबीआई) द्वारा हरेक वर्ष फरवरीको तेस्रो हप्तामा जनतामा वित्तीय साक्षरतामाथि प्रोत्साहन दिन राष्ट्रव्यापी रूपमा पालन गरिन्छ। यस वर्ष वित्तीय साक्षरता सप्ताह (एफएलडब्ल्यू) आरबीआईले 26 फरवरी, 2023 देखि 01 मार्च, 2024 सम्म ‘एक सही शुरुआत गरौँ, आर्थिक रूपमा स्मार्ट बनौँ’ भन्ने नाराका साथ मनाइरहेको छ। उक्त जानकारी पीआईबीले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
2024 को एफएलडब्ल्यूको अवसरमा भारतीय रिजर्भ ब्याङ्क (आरबीआई), गान्तोकले 26 फरवरीदेखि 01 मार्च, 2024 सम्म सिक्किम राज्यका सबै छः जिल्लामा पहलहरूको एक शृङ्खला शुरु गरेको छ। त्यसको एक भागको रूपमा, जनतामा वित्तीय जागरूकता फैलाउन वित्तीय साक्षरता (एफएल) भ्यान 26 फरवरी, 2024 मा सिक्किमका सबै जिल्लामा एकै साथ तैनाथ गरिएको थियो।
नाम्ची जिल्लामा जिल्ला प्रशासनिक केन्द्रमा झण्डा हल्लाएर विदाई कार्यक्रम सम्पन्न भएको थियो भने एफएल भ्यानलाई नाम्चीकी जिल्लापाल अन्नपूर्ण आलेले झण्डा देखाएकी थिइन्। कार्यक्रममा राज्य सरकारका पदाधिकारी, स्थानीय ब्याङ्कका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
दृष्टिविहीन व्यक्तिहरूसम्म पुग्नको लागि आरबीआई गान्तोकले ब्रेलमा वित्तीय साक्षरता सन्देश छापेको छ। त्यो क्षणको सम्झनामा नाम्ची जिल्लाकी जिल्लापालले वित्तीय साक्षरता सामग्रीहरू ब्रेल लिपिमा अनावरण गरिन् र हाम्रो विशेष अतिथि सुवास छेत्री, ब्रेल पाठकलाई प्रतिलिपि प्रदान गरिन्।
यसको एक भागको रूपमा विद्यार्थीहरूलाई समावेश गर्न आरबीआईले एफएलडब्ल्यू अघिल्लो हप्तामा सिक्किम राज्यका सबै छः जिल्लाका स्कूलहरूमा स्लोगन लेखन र पोस्टर बनाउने प्रतियोगिता आयोजन गर्यो। नाम्ची जिल्लाका विभिन्न विद्यालयका विजेता प्रतियोगीहरूलाई पनि डीएसी कार्यालयमा आमन्त्रित गरी प्रमुख अतिथिका बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो।
सहायक प्रबन्धक सर्बानी घोष, सहायक प्रबन्धक तृशा बरुआ र आरबीआई गान्तोकका सहायक शैलब तामाङले कार्यक्रमको संयोजन गरेका थिए। नाम्चीकी जिल्लापाल अन्नपूर्ण आलेले वित्तीय साक्षरता प्रवर्द्धन गर्न, विशेष गरी ब्रेलमा एफएल सामग्री जारी गर्नेतर्फ आरबीआईको सक्रिय दृष्टिकोणको प्रशंसा गरिन्।
वित्तीय साक्षरता अडियो सामग्री प्रसारण गर्ने लाउडस्पिकरहरूले सुसज्जित वित्तीय साक्षरता भ्यानले जिल्लाभरि जानकारी फैलाउने मोबाइल प्लेटफार्मको रूपमा सेवा गर्यो। एफएल गाडीलाई वित्तीय साक्षरता सहजकर्ताहरूद्वारा सञ्चालित गरिएको थियो, जसले तत्काल वित्तीय साक्षरता शिविर आयोजन गरे र वित्तीय ज्ञान भएका व्यक्तिहरूलाई सशक्त बनाउन पर्चा र अन्य वित्तीय साक्षरता सामग्री वितरण गरे।
