कोलकाता, 1 फरवरी : अलचिकी लिपिका आविष्कारक पण्डित रघुनाथ मुर्मूलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले उनको पुण्यतिथिमा स्मरण गर्दै श्रद्धाञ्जलि दिएकी छन्। बिहीवार बिहान मुख्यमन्त्रीले यस सम्बन्धमा ट्वीट गरिन्। उनले ट्वीटमा लेखिन्- आदिवासीहरूको मुख्य भाषा अलचिकीका आविष्कारक पण्डित रघुनाथ मुर्मूको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जलि दिरहेकी छु।
पण्डित रघुनाथ मुर्मू अलचिकी लिपिका आविष्कारक थिए। उनको जन्म 5 मई, 1905-मा ओडिशाको मयूरभञ्ज जिल्ला अधिनस्थ डांडबुस नामक गाउँमा भएको थियो। तकनिकी पेशामा संक्षिप्त कार्यकालपछि उनले बोडोतोलिया हाई स्कूलमा अध्यापनको काम गरे। अध्यापनको क्रममा उनको रूचि सन्थाली साहित्यतिर बढ़्यो। 01 फरवरी, 1982-मा उनको निधन भएको थियो। आदिवासी समुदायमा अत्यन्त लोकप्रिय पण्डित रघुनाथ मुर्मूका सबै पुस्तकहरू पश्चिम बंगाल सरकारले प्रकाशित गरेको छ। मुर्मूले सन्थाली भाषामा अलचिकी लिपिको शुरुआत गरेका थिए। राज्य सरकारको सन्थाली भाषा अकादमीद्वारा यी पुस्तकहरू प्रकाशित गरिएको छ।
उल्लेखनीय छ, वर्ष 2000- मा सन्थालीलाई भाषाको रूपमा आधिकारिक मान्यता दिइएको थियो। त्यसपछि वाम मोर्चा सरकारमा यसको लागि सन्थाली अकादमी स्थापना गरिएको थियो। त्यसपछि वर्ष 2011-मा ममता ब्यनर्जी मुख्यमन्त्री भएपछि यी भाषाहरूको विकासको लागि बेजोड़ काम गरिएको छ।
