सोनादा, 04 फरवरी : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज रंगबुल धोतरिया रंगमुक समष्टीमा विभिन्न परियोजनाहरूको शिलान्यास गरेका छन्। उक्त समष्टीको मिलिङ चियाबारीको सार्वजनिक भवनमा सम्पन्न शिलान्यास कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको प्रमुख कार्यपाल अनित थापाले 1606.67 लाखको लागतमा 5.166 किलो मीटरको रोड मरमत्तिसितै मिलिङको बीच गाउँदेखि चन्द्रमानधुरालाई जोड्ने स्टिल ब्रिजको निर्माणको लागि पनि शिलान्यास गरेका छन्।
यसको साथै उनले रंगबुल धोतरिया रंगमुक समष्टीको लागि विभिन्न दशवटा विभिन्न परियोजनाहरूको पनि शिलान्यास गरेका छन्। उक्त शिलान्यास गरिएको परियोजनाहरूमा विभिन्न स्थानहरूमा सार्वजनिक भवन निर्माण, समाज घर निर्माण र विभिन्न स्थानहरूको रोड मरमत्तिको लागि शिलान्यास गरिएको छ। आज शिलान्यास गरिएको परियोजनाहरूमा बालासनको 15 लाइनमा सामुदायिक भवनको निर्माण,
धोत्रे भञ्ज्याङदेखि आलेटारसम्मको सडकको मरमत्ति र सुदृढीकरण, बाँसघारी गाउँ, मुण्डाकोठी, सोनादामा सामुदायिक भवनको निर्माण, मिलन मोडदेखि तिरुवेस गाउँसम्मको सडकको मरमत्ति र सुदृढीकरण, मुण्डा चियाबारीको जौबारी (सञ्जित राईको घर) देखि कृतिन सिँचुरीको घरसम्मको सडकको मपटरमत्ति र सुदृढीकरण, सिडर्सको खेल मैदानदेखि क्रिच हाउस, सिडर्सदेखि सोनादासम्मको सडकको मरमत्ति र सुदृढीकरण, गैरी गाँउ, मुण्डा कोठी चियाबारीमा सामुदायिक भवनको निर्माण, मुण्डाकोठीको सिग्धोजमा सामुदायिक भवनको निर्माण, एसपी हाउसदेखि पैला नम्बर, मुणेजाकोठीसम्मको सडकको मरमत्ति र सुदृढीकरण,
ग्रामोदय शिव ग्राम, बीच गाउँ, धोत्रेमा समाज भवनको निर्माण र युवा संघ धोत्रे, नीच ग्राममा समाज भवन निर्माण आदि रहेका छन्। सिध्दार्थ मोक्तानले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि अनित थापा लगायत जीटीएको मुख्य सचिव आईएएस सौम्य पुरकैत, सभासद प्रमोस्कर ब्लोन, क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा सभासदहरू सतीश पोख्रेल, अनोश थापा लगायत विभागीय अधिकारीहरू उपस्थित रहेका थिए।
