खरसाङ, 24 जनवरी : जीटीए चिफ् अनित थापाले खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको मालुटार क्षेत्रमा विभिन्न विकासका योजनाहरुको शिलान्यास गरेका छन्। मालुटार चियाबारीको लोवर गैरी गाउँमा आयोजित एक कार्यक्रममा उनले मालुटार र सिमरिङ क्षेत्रका लागि विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरेका छन्।
आज जीटीए चिफ् अनित थापाले यस क्षेत्रमा गरेका शिलान्यास अन्तर्गत सिमरिङदेखि मालुटारको गोदामधुरा हुँदै दोकान डाँडा, गैरी गाँउसम्म सडक निर्माण, मालुटार चियाबारीको गैरी गाउँमा सामुदायिक भवनको निर्माण, अप्पर सिमरिङमा सामुदायिक हलको निर्माण, लोवर सिमरिङमा गुम्बाको निर्माण जस्ता विकास परियोजनाहरूको शिलान्यास सामेल छन्। शिलान्यास कार्यक्रम शिवखोला ग्राम पञ्चायतको पञ्चायत सदस्या सिर्जना छेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।
उक्त शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो सम्बोधनमा जीटीएक प्रमुख कार्यपाल अनित थापाले भने, “पञ्चायत चुनाउ प्रचारको समयमा म यस क्षेत्रमा भ्रमण गर्दा क्षेत्रवासीले धेरै समस्याहरु मेरो अघि राख्नु भएको थियो। मैले त्यस समय नै वचन दिएको थिए, तपाईंहरुले राख्नु भएका समस्याहरु चुनाउ सकिएपछि म अवश्य पूरा गरिदिने छु। मैले दिएको वचन पूरा गर्दै योजनाहरू क्षेत्रमा ल्याएको छु।“
कार्यक्रममा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान, तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, शिवखोला ग्राम पञ्चायतको प्रधान मोहनकुमार प्रधान, उप प्रधान अम्बिका देवान लगायत पञ्चायत सदस्यहरू, पञ्चायत समिति सदस्याहरू, भागोप्रमोको पदाधिकारीहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो।
