गान्तोक, 01 फरवरी : सिक्किम सरकारको शिक्षा विभागको पाठ्य पुस्तक निदेशालयले यो वर्ष नयाँ रेकर्ड कायम गर्दै स्कूल खोलिएको पहिलो दिन नै सबै पाठशालाहरूलमा पाठ्य पुस्तक, युनिर्फम र स्कूल ब्याग वितरण गर्न सक्षम भएको छ। शिक्षा विभाग अधीनस्थ रहेको पाठ्यपुस्तक निदेशालयबाट सालको नयाँ सत्रको पठनपाठनको निम्ति राज्यभरिका 7 सय 67 वटा पाठशाला मध्ये 714 वटा पाठशालामा पहिलो दिन नै सबै आवश्यक सामाग्री उपलब्ध गराएर वितरण गर्न सक्षम बनेको छ।
निदेशालयका निदेशक सोनाम लेप्चाले दिएको जानकारी अनुसार आज पहिलो दिन राज्यको छवटै जिल्लाका लगभग सबै पाठशालाहरूमा खाता-किताब, जुत्ता, युनिफर्म, ब्याग, रेन कोट र स्वेटर विद्यार्थीहरूलाई उपलब्ध गराउने कार्य भएको छ। यसको निम्ति सरकारले 16 करोड़ 1 लाख 39 हजार 463 रूपियाँ खर्च गरेको छ।
पाठ्यपुस्तकमा एनसीआरटीले तयार पारेको पुस्तक र शिक्षा विभागले टेन्डरमार्फत छापेका पुस्तकहरू सबै रहेका छन्। युनिफर्म आठौं श्रेणीसम्मका विद्यार्थीहरूको निम्ति वितऱण गरिने गरिन्छ। अर्कोतिर केही प्राथमिक पाठशालाहरूमा शिक्षक र अतिरिक्त सहयोगीहरू नभएका कारण वितरण कार्यमा ढिलाइ भएको, तर आगामी दुई दिनमा सबैले आवश्यक बुनियादी पूर्वाधार पाउने निश्चित रहेको उनले बताएकी छन्।
निदेशालयका संयुक्त निदेशक आशा खत्रीले यो साल राज्यभरिका सबै विद्यालय खोलिने दिन नै आवश्यक पूर्वाधार पुऱ्याउने लक्ष्य राखेर अगस्त महिनादेखि नै कार्य शुरु गरिएको बताइन्। जसमा राज्य सरकार, शिक्षा विभागका एसीएस, निदेशालयको अधीनमा रहेका सबै कर्मचारी र जिल्लामा रहेका सबै अधिकारी अनि पाठशालासम्मका सम्बन्धित व्यक्तित्वहरूले कार्य गरेको फल प्राप्त भएको बताइन्। यो वर्ष केवल 93 प्रतिशत पाठशालामा पहिलो दिन नै बुनियादि सामान वितरण गर्न सकिएको तर आउँदो सत्रदेखि भने सतप्रतिशत पाठशालामा पुऱ्याउने लक्ष्य लिएर कार्य गर्न बताइऩ्।
राज्य सरकारको शिक्षा विभागले आज पहिलो दिन नै विद्यार्थीलाई किताब, रेनकोट, ब्याग सबै बाड्न सकेको बताउँदै सर टासी नामग्याल उच्चत्तर माध्यमिक विद्यालयकी प्राचार्य डा. सरोजा प्रधानले खुशी व्यक्त गरिन्। उनले धेरै वर्षपछि यसरी पाठशाला खोलिएको पहिलो दिन नै सबै कुरा उपलब्ध हुँदा विद्यार्थी र शिक्षक सबैलाई यसले सहयोग हुने गरेको बताउँदै विभाग र सरकार प्रति आभार प्रकट गरिन्।
यसैगरि बोजोघारी उच्चत्तर माध्यमिक विद्यालयका प्राचार्य शरद पौडेलले भने, यो पहल एकदमै राम्रो र सकरात्मक कुरा रहेको छ पढ्ने विद्यार्थीको निम्ति हात हातमा किताब हुनु धेरै राम्रो भएको छ। सरकारको पहल सकरात्मक रहेको छ अनि आवश्यक कुराहरू उनले सरकारलाई मागेका सबै पूरा भइरहेको बताउॅंदै आउने दिनहरूमा सबै कुरा समाधान हुने विश्वास रहेको बताए।
राजधानी गान्तककै अर्कोतिर तादोङ उच्चत्तर माध्यमिक विद्यालयकी प्राचार्य सङ्गीता ख़ड्काले किताबहरू पाएको कारण आजैदेखि पठनपाठन शुरु भएको बताइन्। उनले यसको निम्ति विद्यालयको पक्षबाट आभार प्रकट गरिन् भने आवश्यकताहरूबारे पनि विभागले चाँडै पुरा हुने कुरामा विश्वास व्यक्त गरिन्।
यसैगरि राज्यकोक दूर्गम ठाउँहरूमा पनि शिक्षकहरू आफै अघि आएर अथवा विभागीय अधिकारी र कर्मचारीहरूको सक्रियतामा पाठ्यपुस्तक र अन्य बुनियादी सुविधा पुऱ्याउने कार्य गरिएको विभागले बताएको छ। जसमा उत्तर सिक्किमको टिस्टाको जल प्रलयले विछिन्न बनेका गाउँहरूको पाठशालाहरूमा पनि शिक्षकहरू आफैले किताब बोकेर फड्के र बाँसको पुल तर्दै भए पनि विद्यार्थीहरूको निम्ति खाता किताब पुऱ्याउने सराहनीय कार्य गरेको जानकारी प्राप्त भएको छ। जसमा विशेष गरेर जङ्गुको लुम गाउँको प्राथमिक पाठशालाका शिक्षकहरू स्वयंले यस्तो उदाहरणीय कार्य गरेको थाहा लागेको छ।
