खरसाङ, 20 नोभेम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत अम्बटे चियाबारीको पाँच घरे सार्वजनिक भवनमा वरिष्ठ साहित्यकार एवं बाल साहित्य अकादमी पुरस्कारले पुरस्कृत सुदर्शन प्रधान अम्बटेको नवौं कृति फ्यामिली टेबल बुक (पारिवारिक गुणा पुस्तक) लोकार्पण गरिएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ नागरिक कल्याण समितिका सभापति दिपककुमार थापाले गरेका थिए भने प्रमुख अतिथिको रूपमा सिंगबुली हाई स्कूलका प्रधान अध्यापक निरज खाम्बेन राई उपस्थित रहेका थिए।
यसैगरी, विशिष्ट अतिथिहरूको रूपमा पण्डित गंगाप्रसाद दाहाल, स्वनिर्भर दलकी को-अर्डिनेटर कल्पना प्रधान, प्रसाई प्रकाशनको अध्यक्ष कल्याण छेत्री उपस्थित रहेका थिए। नालान्दा निकेतन स्कूलका शिक्षिकाहरू सुवर्ण थापा, नितु थापा र प्रबिना तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शिक्षिका सुदेशना प्रधानले राखेकी थिइन्।
कार्यक्रममा नालान्दा निकेतन स्कूलका नानीहरूद्वारा उदबोधन नृत्य प्रस्तुत गरिएको थियो। यसरी नै अनुप रामुदामु, हनोक थापा, कबीर लामा, अमित सुब्बा ’विकल्प’ आदिले कविता र ब्यंग्य पठन गरेका थिए। कार्यक्रममा सुदर्शन अम्बटेद्वारा संकलित अनि प्रसाई प्रकाशनद्वारा प्रकाशित फ्यामिली टेबल बुक (पारिवारिक गुणा किताब) लोकार्पण गरियो।
उक्त पुस्तकको लोकार्पण सभाध्यक्ष दिपककुमार थापा, प्रमुख अतिथि निरज खाम्बेन राई, विशिष्ट अतिथिहरू कल्याण छेत्री, गंगाप्रसाद दाहाल, कल्पना प्रधान लगायत जिनोद परिवार, रामकृष्ण शर्मा, रमेश राई, श्यामकुमार प्रधान, गणेश छेत्री आदिको बाहुलीबाट गरियो। यस अवसरमा उक्त पुस्तकको महत्व विषयमा सुदर्शन अम्बटेले जानकारी गराएका थिए।
उनले उक्त पुस्तक विषयमा बोल्दै यस पुस्तकमा विद्यार्थीहरू लगायत सबैको लागि उपयोगी रहेको बताउँदै यस पुस्तकमा नेपाली र अंग्रेजी भाषामा 39 प्रकारको साग सब्जीहरूको नाम, फल फूलहरूको नाम, विभिन्न रोगहरूको नाम लगायत विभिन्न जानकारीहरू रहेको बताए।
कार्यक्रममा प्रमुख अतिथि चित्रकार निरज खाम्बेन राईले आफ्नो सम्बोधनमा वरिष्ठ साहित्यकार सुदर्शन अम्बटेद्वारा लिखित यस पुस्तकमा कभर डिजाइन गर्नु पाउँदा खुशी लागेको बताए। उनले अम्बटे चियाबारीमा तीनजना स्रष्टाहरू प्रसाद राई अम्बटे, अरूण निरौला र सुदर्शन अम्बटे रहेका थिए भन्दै उनीहरूको योगदान महत्वपूर्ण रहेको बताए। उनले आज अम्बटे आउन पाएर खुशी लागेको बताउँदै आज लोकार्पण गरिएको पुस्तक विद्यार्थीहरू साथै सबैलाई धेरै काम लाग्ने पुस्तक रहेको बताए।
कार्यक्रममा विशिष्ट अतिथिहरू गंगाप्रसाद दाहाल, प्रसाई प्रकाशनको अध्यक्ष कल्याण छेत्री र सभाध्यक्ष दिपककुमार थापाले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन शिक्षिका सुष्मा प्रसाईले राखेकी थिइन्।
हिन्दुस्थान समाचार/हनोक
