गान्तोक, 17 अक्टोबर (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भातृ सङ्गठन विद्यार्थी प्रकोष्ठ अनि मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका युवाहरूले पूर्व अनि दक्षिण सिक्किमका विभिन्न क्षतिग्रस्त जग्गाको निरीक्षण भ्रमण गरी स्थानीय मानिसहरूसँग अन्तरक्रिया गरेको छ। टोलीको अगुवाई राज्यका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले गरेका थिए।
सांसद सुब्बाले रम्फू अनि सिद्धेश्वरी मन्दिर आदर्श गाउँको भ्रमण गरी विद्यार्थी प्रकोष्ठको तर्फबाट विद्यार्थी नानीहरूलाई खाता, कलम आदि वितरण गरे भने मानेबुङ देन्तामका 65 सदस्यले रम्फूमा श्रमदान गरी सेवा पुऱ्याए। यस अतिरिक्त, आदर्श गाउँमा पीडित परिवारका सदस्यहरूले बाढीमा गुमाएका विभिन्न दस्तावेजहरू आधार कार्ड, जाति प्रमाणपत्र आदि पनि सांसद सुब्बाले प्रदान गरे।
जानकारी गराइन्छ, सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै एकै जग्गा बीएसी, ग्राम प्रशासनिक कार्यालय, ब्याङ्क, डेस्मी अनि बीएलओ कार्यालयको व्यवस्था मिलाउन मिनि विभाग स्थापना गरिएको छ भने अहिलेसम्म यहाँ कूल 31 सदस्यको दस्तावेजका लागि प्राथमिकी दर्ता भएको छ। यसरी नै आधार कार्डका लागि 17 अनि मतदाता प्रमाणपत्रका लागि 19 सदस्यको दस्तावेजको जाँच एवम् छानबिन गरिएको थाहा लागेको छ।
आजको निरीक्षण अवधि सांसद इन्द्रहाङ सुब्बाले स्थानीय पञ्चायत तथा खण्ड विकास अधिकारीहरूसँग अन्तरक्रिया पनि गरे। यस अवधि एसकेएम पार्टीका राज्य स्तरीय विद्यार्थी प्रकोष्ठका अध्यक्ष सोनाम छोपेल शेर्पा लगायत अन्यको पनि उपस्थिति रहेको जानकारी एसकेएम प्रचार सचिव रञ्जना प्रधानले प्रेस विज्ञप्तिमा दिएकी छन्।
हिन्दुस्थान समाचार/बिशाल
