गान्तोक, 19 अगस्त (हि.स.)। राज्य महिला, बालबालिका, वरिष्ठ नागरिक एवं दिव्याङ्गजन विभागले सोमवार राजधानीको अनुसूचित जाति भवनमा माता-पिता एवं वरिष्ठ नागरिकहरूको पालनपोषण र कल्याण अधिनियम, 2007 र अटल वायु अभ्युदय योजना (एवीवाईएवाई) माथि एक जागरुकता कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा अधिवक्ता श्रेय शर्मा र सिक्किम सिनियर सिटिजन फाउण्डेशनका सदस्य मोनीराम राई अतिथि वक्ताका रूपमा उपस्थित थिए।
कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य माता-पिता एवं वरिष्ठ नागरिकहरूको पालनपोषण र कल्याण अधिनियम, 2007 र यसका प्रावधानहरू तथा वरिष्ठ नागरिकहरूको कल्याणप्रति समर्पित वृहत योजना अटल वायु अभ्युदय योजनाका नियम र कल्याण उपायहरूको बारेमा जागरुकता फैलाउनु रहेको थियो।
कार्यक्रममा एसटीएनएमकी चिकित्सा अधीक्षक डा. रुथ, राज्य महिला, बालबालिका, वरिष्ठ नागरिक एवं दिव्याङ्गजन विभागकी अतिरिक्त सचिव बन्दना राई, संयुक्त सचिव मनीषा सिन्चुरी, एसडीएम अभिजीत आर. पाटिल, एसडीएम महेन्द्र छेत्री, एसडीएम रोशन सुब्बा आदि उपस्थित थिए।
संयुक्त सचिव मनीषा सिन्चुरीले एवीवाईएवाईका नियमहरूको बारेमा जानकारी गराउॅंदै यस योजना अन्तर्गत आवास, चिकित्सा सहायता, सहायक उपकरणहरू र सक्रिय बुढ्यौलीका लागि अवसरहरूको बारेमा जानकारी गराइन्। स्रोत वक्ताका रूपमा उपस्थित अधिवक्ता श्रेया शर्माले माता-पिता एवं वरिष्ठ नागरिकहरूको पालनपोषण र कल्याण अधिनियम, 2007 बारे विस्तृत रूपमा जानकारी गराइन्।
यसैगरी, अधिवक्ता मोनीराम राईले सिक्किम माता-पिता एवं वरिष्ठ नागरिकहरूको पालनपोषण र कल्याण नियम, 2014 माथि प्रकाश पारेका थिए। उनले यसको व्यापक पहुँच र कोषको साथ एवीवाईएवाईले वृद्धावस्थालाई मर्यादित र समावेशी बनाउन प्रयासरत रहेको बताए।
कार्यक्रममा खुला चर्चा सत्र पनि राखिएको थियो, जसमा वरिष्ठ नागरिकहरूले विभिन्न प्रश्नहरू सोधेका थिए। एसडब्ल्यूओ मणिकला गुरुङले प्रश्नहरूको जवाफ दिएकी थिइन्।
हिन्दुस्थान समाचार / बिशाल
