गान्तोक, 24 जनवरी (हि.स.)। पूर्व सिक्किमको सियारी निर्वाचन क्षेत्र अन्तर्गत भुसुक किरावा समितिले आयोजन गरेको सप्ताहव्यापी परम्परागत सिली नित्य प्रशिक्षणको कार्यशाला भव्यताको साथमा सम्पन्न भयो। भुसुक राई गाउँमा आयोजित समापन समारोहमा मुख्य अतिथिको रूपमा राई थुतुरी मुन्दुम संरक्षण समिति, सिक्किमका संस्थापक अध्यक्ष देवीराम राई उपस्थित थिए। यसैगरि विशिष्ट अतिथीको रूपमा सिलीहाङ्पा सावन राई, संस्कृति सचिव- राई थुतुरी मुन्दुम संरक्षण समितिको पनि विशेष उपस्थिति थियो।
गत 16 जनवरीदेखि शुरु गरिएको सिली प्रशिणक्ष कार्यशालमा भुसुक वरिपरिका किराँती युवा किशोरहरूले उत्साहको साथमा अंश ग्रहण गरेका थिए। लगभग 30 जना युवाहरूले राई समुदायको लोक परम्परागत सिली नृत्यको विभिन्न प्रकारलाई सफलतापूर्वक सिकेर प्रस्तुति दिन सफल भएका छन्।
प्रशिक्षणको निम्ति दक्षिण सिक्किमको नामथाङ करेक गाउँबाट आएका सिलीहाङ्पा दीपन राई, सिलीहाङ्पा स्वदेश राई र सिलीहाङ्पा बिश्वास राई सप्ताहव्यापी रूपमा भुसुकका युवा किशोरहरूलाई राई किराँत जातिको लोपोन्मुख लोक नृत्य प्रशिक्षण गराए। जसमा चर्चित भरुवा सिलीको सेवान्ने, वापा, चिल, धोबीचरा, मृग, माछा, गँगटा, भ्यागुता, बुङकोते, हासिङछेने जस्ता विभिन्न प्रकारलाई सिकाउने कार्य गरियो।
कार्यक्रममा मुख्य अतिथिको रूपमा आफ्नो सम्बोधन राख्दै देवीराम राईले यो प्रशिक्षणले युवा पुस्ताको निम्ति लाभदायक हुने बताए। यसरी आफ्नो संस्कार संस्कृति र परम्परालाई सुरक्षित राखेर भावि पुस्ताको निम्ति सुरक्षित गर्ने दिशामा यस्ता कार्यशालाले योगदान पुग्ने बताए। राई समुदायको धनी लोक परम्परालाई बचाएर युवा पुस्तामा हस्तान्तरणको प्रयासप्रति भुसुक किरावा समितिलाई आभार प्रकट गरे।
भुसुक किरावा समितिको प्रयासमा थालिएको सप्ताहव्यापी सिली प्रशिक्षणले युवाहरूमा आफ्नो संस्कृति परम्पराप्रति चासो बढाउने कार्य गरेको छ। कार्यशालाका समापन समारोहमा समितिका अध्यक्ष पदम खालिङ स्थानीय बरिष्ठ नागरिकगण तथा प्रशिक्षणमा सहभागी प्रशिक्षणार्थीहरूका अविभावक र समितिका सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। भुसुक किरावा समितिद्वारा सबै प्रत्यक्ष र अप्रत्यक्ष रूपले सहयोग र सहभागी बनिदिएकोमा आभार व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार/होमनाथ
