गान्तोक, 04 दिसम्बर (हि.स.)। सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका कार्यकर्ताहरूले एसडीएफ पार्टीका कार्यकर्ताहरूमाथि प्राणघातक आक्रमण गरेको आरोप लागेको छ। एसडीएफ पार्टीका प्रचार-प्रसार उपाध्यक्ष कृष्ण खरेलले आज जारी प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाएका छन्।
प्रेस विज्ञप्तिमा जानकारी गराइए अनुसार, ‘आज एसडीएफ पार्टीको सिक्किम बचाऔँ अभियान-मा निक्लिएका एसडीएफ सहयोद्धाहरूलाई पश्चिम सिक्किमअन्तर्गत रिञ्चेनपोङ समष्टिको मिडल ताकुथाङमा एसकेएम कार्यकर्ताहरूले प्राणघातक आक्रमण गरेका छन्।’
आक्रमणमा एसडीएफ पार्टीका युवा नेताहरू प्रह्लाद राई, सुकराज सुब्बा, धनबहादुर तामाङ, आईबी राई, सिद्धान्त सुब्बा र फुर्देन भोटिया गम्भीर रूपमा घाइते बनेको र अहिले उनीहरू नाम्ची जिल्ला अस्पतालमा उपचाराधीन रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।
एसडीएफ पार्टीले यस्तो अमानवीय कृत्यको जोडदार भर्त्सना गर्दै पुलिस प्रशासनलाई आक्रमणकारीहरूलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। अर्कोतिर, एसकेएमले यस आक्रमणको निम्ति एसडीएफ पार्टीलाई दोष्याउने अर्को कुटिल चाल चलेको छ भन्दै एसडीएफले यसको निन्दा गर्दछ।
एसकेएम पार्टीलाई राज्यको शान्ति-श्रृङ्खला भङ्ग नगर्न र विपक्षी पार्टीको संवैधानिक अधिकारमाथि बारम्बार अतिक्रमण नगर्न एसडीएफले चेताउनी पनि दिएको छ।
हिन्दुस्थान समाचार/बिशाल
