राँची, 1 फरवरी : झारखण्ड हाई कोर्टमा पूर्व मुख्यमन्त्री हेमन्त सोरेनको ईडीविरूद्ध क्रिमिनल रिट याचिकाको बिहीवार सुनवाई भयो। हेमन्त सोरेनले ईडीको जाँचबुझ एवं पक्राउलाई हाईकोर्टमा चुनौती दिएका छन्। हेमन्त सोरेनको पक्षबाट अधिवक्ता राजीव रञ्जन एवं अप्पर महाधिवक्ता सचिन कुमारले हस्तक्षेप याचिका (आईए) दर्ता गर्ने अनि यस मामिलालाई मध्यान्ह 12 बजेसम्म राख्ने आग्रह गरे जसमाथि कोर्टले आक्रोश व्यक्त गऱ्यो। कोर्टले भन्यो, मामिलाको अर्जेन्सी प्रतीत भएको छैन, यसैले मामिलाको सुनवाई शुक्रवार हुनेछ।
ईडीको पक्षबाट एएसजीआई एसवी राजुले आफ्नो पक्ष राखे। दुवै पक्षले भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट अदालत समक्ष आ-आफ्नो तर्क पेश गरे। यस सम्बन्धमा हाई कोर्टमा क्रिमिनल रिट याचिका दर्ता गरियो। गत बुधवार यस मामिलालाई हाई कोर्टमा मेन्शन गरी सुनवाई गर्ने आग्रह गरिएको थियो। त्यसपछि हाई कोर्टका एक्टिङ्ग चीफ जस्टिस एस चन्द्रशेखरको अध्यक्षतामा रहेको खण्डपीठमा बिहीवार बिहान 10:30 बजे सुनवाईको तिथि निर्धारण गरिएको थियो।
उल्लेखनीय छ, हेमन्त सोरेनले ईडीको समनविरूद्ध हाई कोर्टमा याचिका दर्ता गरेका थिए। उक्त याचिकामा मुख्यमन्त्रीले ईडीद्वारा उनलाई सेक्शन 50 अन्तर्गत जारी गरिएको समनलाई चुनौती दिएका छन्। याचिकामा भनिएको छ, ईडीले आफ्नो शक्तिहरूको दुरूपयोग गरी उनलाई बारम्बार समन जारी गरिरहेको छ। दर्ता याचिकामा ईडीको कारबाहीलाई गलत बताइएको छ।
हेमन्त सोरेनको भनाइ छ, ईडीका अधिकारीहरूले उनीमाथि जाँचमा सहयोग नगरेको आरोप लगाइरहेका छन्। यस आधारमा उनलाई पक्राउ गर्न चाहन्छन्। याचिकामा सुप्रीम कोर्टको त्यो आदेशलाई आधार बनाइएको जसमा भनिएको छ, जाँच एजेन्सीका अधिकारीहरूले जाँचमा सहयोग नगरेको आधारमा कसैलाई पक्राउ गर्न सक्दैनन्।
