
नयाँ दिल्ली, 1 नोभेम्बर : आज (1 नोभेम्बर)-का दिनमा भारतका धेरैवटा राज्यहरू अस्तित्वमा आएका थिए। एक नोभेम्बरमै दक्षिणका केरल, आन्ध्र प्रदेश र कर्नाटक राज्यको स्थापना भएको थियो भने उत्तरमा हरियाणा, मध्य प्रदेश, छत्तीसगढ़को पनि स्थापना भएको थियो। यी सबै राज्यहरूको स्थापना दिवसमा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देश पठाएका छन्।
प्रधानमन्त्री मोदीले ‘एक्स’-मा हिन्दी, अङ्ग्रेजी एवं राज्यहरूको आ-आफ्नै भाषामा पनि बधाई सन्देश पठाएका छन्। हरियाणाको स्थापना दिवसमा उनले लेखेका छन्- ‘हरियाणाका आफ्ना सबै परिवारजनहरूलाई राज्य स्थापना दिवसको अवसरमा मेरो हार्दिक शुभकामना। यस प्रदेशले सदैव कृषि अनि रक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा देशलाई विशेष योगदान दिएको छ। यहाँका युवाहरूले इनोभेशनको दुनियाँमा पनि आफ्नो झण्डा फहराइरहेका छन्। मेरो कामना छ विकासको हरेक मानदण्डमा यस राज्यले नयाँ-नयाँ कीर्तिमान कायम गरोस्।’
मध्य प्रदेश स्थापना दिवसमा प्रधानमन्त्री मोदी लेख्छन्- ‘मध्य प्रदेशका आफ्ना सबै परिवारजनहरूलाई राज्यको स्थापना दिवसमा मेरो हार्दिक शुभकामना। विकासले नित्य नयाँ उच्चता हासिल गरिरहेको मध्यप्रदेशले अमृतकालमा देशका संकल्पहरूलाई साकार बनाउनमा अहम योगदान दिरहेको छ। मेरो कामना छ यो राज्य प्रगतिको पथमा यसरी नै निरन्तर अग्रसर बनिरहोस्।’
छत्तीसगढ़को स्थापना दिवसको उपलक्ष्यमा पठाएका बधाई सन्देशमा प्रधानमन्त्रीले लेखेका छन्, ‘छत्तीसगढ़का आफ्ना सबै दाज्यु-भाइ, दिदी-बहिनीहरूलाई राज्य स्थापना दिवसको धेरै-धेरै शुभकामना। यहाँका मानिसहरूको जीवन्तताले यसलाई एक विशेष राज्य बनाउँछ। यस राज्यको संस्कृतिलाई समृद्ध बनाउनमा हाम्रा आदिवासी समुदायको अत्यन्त महत्वपूर्ण योगदान रहिआएको छ। प्रदेशको गौरवशाली परम्परा औ सांस्कृतिक विरासतले हरेक व्यक्तिलाई आफूतिर आकर्षित गर्दछ। म प्राकृतिक र सांस्कृतिक वैभवले परिपूर्ण छत्तीसगढ़को उज्जवल भविष्यको कामना गर्दछु।’
कर्णाटकको राज्योत्सवमा कन्नड़ तथा अङ्ग्रेजी भाषामा पठाएका सन्देशमा प्रधानमन्त्रीले लेखेका छन्- ‘कर्णाटकको राज्योत्सवमा हामीले उनीहरूको महान भावनाको उत्सव मनाइरहेका छौं जुन प्राचीन नवाचार एवं आधुनिक उद्यमको उद्गम स्थल हो। यस राज्यका मानिसहरू उर्जावान र बुद्धिमत्ताका मिश्रण हुन्, साथै आफ्नो राज्यको महानतालाई कायम राख्न र निरन्तर प्रगतिलाई अग्रगामी बनाउँदछन्। स्थापना दिवसमा कर्णाटकले विकास अनि नवप्रवर्तनको प्रेरणा पाइरहोस्।
प्रधानमन्त्रीले मलयालम अनि अङ्ग्रेजी भाषामा केरलको बारेमा लेखेका छन्- ‘केरल पिरावीको विशेष अवसरमा शुभकामना। आफ्नो परिश्रम र सांस्कृतिक विरासतको समृद्ध छविको लागि चिनिने केरलका मानिसहरू लचिलोपन र दृढ़ संकल्पका प्रतीक हुन्। उनीहरूलाई सदैव सफलता प्राप्त होस् अनि आफ्ना उपलब्धिहरूबाट प्रेरित भइरहुन।’
आन्ध्र प्रदेशको स्थापना दिवसमा प्रधानमन्त्री मोदी लेख्छन्- ‘यस गतिशील राज्यका मानिसहरूलाई मेरो हार्दिक शुभकामना। आफ्नो असाधारण प्रतिभा, अटुट संकल्प औ दृढ़ दृढ़ताको साथमा एपीका मानिसहरूले उत्कृष्टताका विभिन्न क्षेत्रहरूमा आफ्नो छाप छोड़ेका छन्। म उनीहरूको निरन्तर समृद्धि र सफलताको लागि प्रार्थना गर्दछु।’
