
– एक कर्नल र ब्रिगेडियर समेत चार सैन्य अधिकारी पहिला नै निलम्बित भइसकेका छन् बर्खास्त मेजरको माध्यमबाट भारतको परमाणु कार्यक्रम लिक हुने जोखिम थियो
नयाँ दिल्ली, 01 नोभेम्बर : भारतीय सशस्त्र बलका सर्वोच्च कमाण्डर राष्ट्रपति द्रौपदी मुर्मूले पाकिस्तानको निम्ति सुराकी गर्ने सेनाका एक मेजरलाई बर्खास्त गरेकी छन्। स्ट्र्याटेजिक फोर्सेज कमाण्ड (एसएफसी) यूनिटमा तैनाथ उक्त मेजरविरूद्ध मार्च, 2022 –देखि नै जाँच भइरहेको थियो। यसै सुराकीको मामिलामा एक कर्नल र ब्रिगेडियर समेत चार वरिष्ठ सैन्य अधिकारीहरूलाई पहिला नै निलम्बित गरिसकिएको छ।
बर्खास्त गरिएका मेजरमाथि आरोप छ, तिनले उत्तर भारतमा एसएफसी यूनिटमा तैनाथ रहँदा आफ्नो मोबाइलमा ””पटियाला पेग”” नामक व्हाट्स ऐप ग्रुप बनाए अनि यसैको माध्यमबाट एक पाकिस्तानी एजेन्टलाई महत्वपूर्ण डेटा लिक गरे। सेनाका एक एलटी कर्नल, ब्रिगेडियर र दुई अन्य शीर्ष अधिकारी पनि उक्त व्हाट्स ऐप ग्रुपका अंग थिए। यसैले उनीहरूलाई गत वर्ष 2022-मै निलम्बित गरिएको थियो। पाकिस्तानी एजेन्टको सम्पर्कमा रहेको आरोपलाई लिएर एसएफसी यूनिटमा तैनाथ भारतीय सेनाका मेजरविरूद्ध त्यसबेलादेखिकै जाँच शुरू गरिएको थियो।
भारतीय सेनाका स्ट्र्याटेजिक फोर्सेज कमाण्डले नै देशको परमाणु हतियारहरूको प्रबन्ध गर्दछ, यसैले गत वर्ष 2022-देखि जाँचको घेराभित्र परेका मेजरको माध्यमबाट भारतको परमाणु कार्यक्रम पनि लिक हुने जोखिम थियो। मेजरमाथि सैन्य नियमहरू विपरीत आफ्नो इलेक्ट्रनिक डिभाइसमा गुप्त दस्तावेज राखेको आरोप थियो। राष्ट्रिय सुरक्षासित समझौतासित सम्बन्धित मामिलाको जाँचको लागि अधिकारीहरूको एउटा बोर्ड गठन गरिएको थियो। जाँचमा थाहा लाग्यो कि मेजरले आफ्नो इलेक्ट्रनिक उपकरणहरूमाथि गुप्त दस्तावेजको एक प्रति राखेका थिए। साथै तिनी सोशल मीडिया च्याटको माध्यमबाट एक पाकिस्तानी गुप्तचर एजेन्सीको संचालकको सम्पर्कमा पनि थिए।
राष्ट्रपतिले सेना अधिनियम, 1950 को धारा 18, संविधानको अनुच्छेद 310 सहित पठित औ यस सम्बन्धमा सक्षम अन्य सबै शक्तिहरूद्वारा प्रदत्त शक्तिहरूको प्रयोग गर्दै आदेश दिइन्, मेजरका सेवाहरूलाई तत्काल प्रभावदेखि समाप्त गरियोस्।
