वाशिङ्गटन, 01 जनवरी (हि.स.)। अमेरिकाको गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले युक्रेनले ड्रोन आक्रमणमार्फत रुसी राष्ट्रपति ब्लादिमिर पुतिनको आवासलाई निशाना नबनाएको खुलासा गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार, क्रेमलिनको दाबीपछि वास्तविकता पत्ता लगाउन सीआईएले युक्रेनद्वारा गरिएको ड्रोन आक्रमणको मूल्यांकन गरेको थियो। उक्त मूल्यांकनले युक्रेनको उत्तर क्षेत्रमा हालै भएको ड्रोन आक्रमणमा पुतिनले प्रयोग गर्ने आवासलाई लक्ष्य बनाइएको थिएन भन्ने निष्कर्ष निकालेको छ। यो मूल्यांकनले सोमबार रुसी नेताले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तामा गरेको दाबीलाई गलत सावित गरेको छ।
सीएनएनको रिपोर्टअनुसार, अधिकारीहरूले बताएका छन् कि सीआईए निर्देशक जोन र्याट्क्लिफले बुधबार राष्ट्रपति ट्रम्पलाई यस मूल्यांकनबारे जानकारी गराएका थिए। उल्लेखनीय छ, रूसले सार्वजनिक रूपमा युक्रेनले सोमवार पुतिनको घरमा आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएको थियो। त्यसपछि ट्रम्पले पत्रकारहरूसँग युक्रेनको यस्तो कदमले आफूलाई चिन्तित बनाएको बताएका थिए। यद्यपि युक्रेनले यस्तो कुनै पनि आक्रमणमा संलग्नता रहेको दाबीलाई अस्वीकार गरेको थियो।
स्रोतहरूका अनुसार र्याट्क्लिफले ट्रम्पलाई सीआईएलाई उक्त दाबी सत्य नलागेको जानकारी गराएका थिए। बुधवार ट्रम्पले ‘ट्रुथ सोसल’ मा न्यूयोर्क पोस्टको एक सम्पादकीयको लिंक साझा गरेका थिए, जसको शीर्षक थियो— “पुतिनको ‘आक्रमण’ को नाटकले रूस नै शान्तिको मार्गमा बाधक बनेको देखाउँछ।” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले कुनै प्रमाण दिन नसक्ने भन्दै मिडियाले क्रेमलिनको भनाइमा विश्वास गर्नुपर्ने बताएका छन्। सीआईएले भने क्रेमलिनको दाबीबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
