म्याड्रिड, 01 जनवरी (हि.स.)। रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एम्बाप्पे बायाँ घुँडामा चोट लागेका कारण टिमबाट बाहिरिएका छन्। स्पेनिश क्लबले बुधबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा फ्रान्सका सुपरस्टार एम्बाप्पेलाई घुँडामा मोच (स्प्रेन) लागेको जानकारी दिएको छ। यद्यपि उनको मैदानमा फर्कने समयसीमा भने सार्वजनिक गरिएको छैन।
फ्रान्सको प्रतिष्ठित खेल दैनिक L’Equipe का अनुसार, एम्बाप्पे कम्तीमा तीन हप्तासम्म मैदानबाट टाडा रहन सक्ने सम्भावना छ। यद्यपि अखबारले कुनै आधिकारिक स्रोतको उल्लेख गरेको छैन। रिपोर्टमा पछिल्ला केही हप्तादेखि एम्बाप्पे घुँडाको लेटरल लिगामेन्टसम्बन्धी समस्याबाट ग्रसित रहेको र बुधवार बिहान गरिएको एमआरआई परीक्षणमा उपचार तथा आराम आवश्यक पर्ने किसिमको चोट (लेजन) देखिएको उल्लेख गरिएको छ।
एम्बाप्पे हाल उत्कृष्ट फर्ममा थिए। यसै महिनाको शुरुवातमा उनले सन् २०२५ मा रियल म्याड्रिडका लागि आफ्नो ५९औँ गोल गरेका थिए, जससँगै एक क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने क्लब रेकर्डमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका थिए।
सन् २०२४ को गर्मी याममा पेरिस सेन्ट–जर्मेनबाट रियल म्याड्रिडमा आबद्ध भएका एम्बाप्पेले यो सिजन अहिलेसम्म कुल २९ गोल गरिसकेका छन्। तीमध्ये १८ गोल ला लिगामा छन् र उनी हाल लिगका शीर्ष गोलकर्ता पनि हुन्।
रियल म्याड्रिडको आगामी खेल आइतवार ला लिगामा रियल बेटिसविरुद्ध हुने तय भएको छ। उक्त खेलमा एम्बाप्पेको अनुपस्थिति टिमका लागि ठूलो झटका मानिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
