गान्तोक, 20 अगस्त (हि.स.)। वरिष्ठ साहित्यकार शङ्करदेव ढकाललाई भानु पुरस्कारले अलङ्कृत गरिएको छ। नेपाली साहित्य परिषद्, सिक्किमद्वारा राजधानीको मनन भवनमा आज आयोजित 34औं भाषा मान्यता दिवस समारोहमा ढकाललाई भानु पुरस्कारले अलङ्कृत गरिएको हो।
स्मरण रहोस्, सिक्किमका एक वरिष्ठ साहित्यकर पद्मश्री पुरस्कारले सम्मानित सानु लामाको निधन भएकाले यसपाली भानु जयन्ती समारोह साधारण रूपमा मनाइएको थियो। भानु जयन्तीका दिन प्रदान गरिने सबै पुरस्कारहरू पनि भाषा मान्यता दिवसको अवसरमा प्रदान गरिने घोषणा गरिएको थियो।
34औं भाषा मान्यता दिवसको अवसरमा आज मुख्य अतिथिका रूपमा उपस्थित ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती लगायत विशिष्ट अतिथिहरूको बाहुलीद्वारा साहित्यकार ढकाललाई भानु पुरस्कारले अलङ्कृत गरियो। पुरस्कार स्वरुप साहित्यकार ढकाललाई अभिनन्दन पत्र, स्मृति चिन्ह, ताम्रापत्र र नगद 51 हजार रूपियॉं अर्पण गरियो।
भानु जयन्तीको दिन प्रदान गरिने अन्य पुरस्कारहरू पनि आज आमन्त्रित अतिथिहरूको बाहुलीद्वारा प्रदान गरियो। यस क्रममा अभिनारायण मिश्र र चन्द्र राईलाई भाषा सेवाश्री सम्मान, वाङ्दी छिरिङ लामालाई साहित्य सेवाश्री सम्मान, सीबी गुरुङलाई सङ्गीत सेवाश्री सम्मान, पुष्पराज अधिकारीलाई नाट्य सेवाश्री सम्मान, डिल्लीराम अधिकारीलाई पत्रकारिता सेवाश्री सम्मान, पारस नेचालीलाई चित्रकारिता सेवाश्री सम्मान र किरण लामालाई नृत्य सेवाश्री सम्मानले सम्मानित गरियो।
यसरी नै लेप्चा सहित्यमा पुष्पा छोडेन थोमस लेप्चा र भोटिया साहित्यमा येस्से रिङजिङ भोटियालाई भाषा गौरव सम्मानले सम्मानित गरियो। यस अतिरिक्त, अन्तर विद्यालय र खुल्ला रामायण पाठ प्रतियोगिताका विजेता र उपविजेताहरू, अन्तर विद्यालय र खुल्ला कविता पाठ प्रतियोगिताका विजेता र उपविजेताहरूलाई पनि पुरस्कृत गरियो। यसै क्रममा अन्तर विद्यालय सामूहिक नेपाली लोक नृत्य प्रतियोगिताका विजेता र उपविजेताहरूलाई पनि पुरस्कृत गरियो।
भानु पुरस्कारले पुरस्कृत वरिष्ठ साहित्यकार शङ्करदेव ढकालले आफ्नो सम्बोधनमा भाषा आन्दोलनका इतिहासमाथि प्रकाश पार्दै भाषा सङ्ग्रामीहरूमा सम्मान व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल
