गान्तोक, फरवरी : लाचेन मंगन निर्वाचन क्षेत्र अन्तर्गत टुङ नागा जीपीयूमा एसकेएम पार्टीको समन्वय सांगठनिक एवम जनसभा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री सञ्जीत खरेल रहेका थिए भने विशिष्ठ अतिथिमा क्षेत्र विधायक एवम मन्त्री साम्दुप लेप्चा रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री सञ्जीत खरेलले वर्ष 2011 मा ठूलो भूकम्प आउँदा धेरै जना घरविहिन बने तर उनीहरू सबैले क्षतिपूर्ति नपाएको दावी गरे। त्यसबेला केवल एसडीएफ पार्टीका कार्यकर्ताहरूलाई मात्र सहयोग गरेको मन्त्रीले आरोप लगाए।
यस क्षेत्रमा गत 4 अक्टोबरको दिन आएको विनाशकारी बाढले धेरै क्षति पुऱ्याएको बताउॅंदै मुख्यमन्त्रीको निर्देश बमोजिम शीघ्र सर्वे गरिएको र सर्वे पूरा भएपछि यसको क्षतिपूर्ति प्रदान गर्ने आश्वासन दिए। उनले यहाँका सोचनीय स्थितिमा रहेका सडक मार्गहरूलाई एसकेएम पार्टी सरकारमा आउनसाथ निर्माण गरिएको बताए। मंगन जिल्लामा विश्वविद्यालय ल्याउने पहल भइरहेको र यदि यहाँ विश्वविद्यालयको निर्माण भएपछि यहाँको विकास स्वतः हुने पनि उनले सम्भावना व्यक्त गरे।
पूर्व मुख्यमन्त्री चामलिङले नारीहरूलाई अवहेलना गरेको आरोप लगाउॅंदै वर्तमान सरकारले नारीहरूलाई सम्मान दिएको मन्त्रीले आफ्नो सम्बोधनमा बताए। चामलिङले वर्ष 2014 तिर वितरण गरेको टोकन लिएर अहिले पनि राज्यका गरीबहरू केही पाउँछु भन्ने आशा लिएर सुतिरहेको उनले बताए। चामलिङ सरकारमा एक परिवार एक नौकरी र एड्हक शिक्षकहरूको भविष्य अनिश्चित थियो, तर एसकेएम पार्टी सरकारमा आउनसाथ अस्थायी शिक्षकहरूलाई आठ वर्षमा स्थायीकरण गर्ने नीति तय गरेको उनले बताए।
मंगन जिल्लाका मानिसहरूले पीएस गोले र एसकेएम पार्टीलाई मन पराएको हुनाले आगामी चुनाउमा उत्तर जिल्लाबाट तीनवटा निर्वाचन क्षेत्र नै एसकेएम पार्टीले जित्ने उनले ठोकुवा गरे। मन्त्री खरेलले आगामी चुनाउमा आफुले टिकट नपाए पनि मुख्यमन्त्रीको साथमा रहने वचन दिॅंदै आफू एसकेएम पार्टीको एक वफादार सिपाही रहेको बताए। उनले पार्टीका कार्यकर्ताहरूबीच ग्रुपिज्म नगर्ने पनि आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एवम् मन्त्री साम्दुप लेप्चाले यदि वर्ष 2019 मा एसकेएम पार्टी सरकारमा नआएको भएमा एक परिवार एक नौकरी सबै उडने थियो, किनभने एसकेएम पार्टी सरकारमा आउनसाथ विपक्षी दलले उच्च न्यायालयमा मुद्दा दर्ता गरेको थियो भनी बताए। तर वर्तमान सरकारले ढटेर लडेपछि मुद्दा सरकारको पक्षमा आएको उनले अवगत गराए।
उनले छोटो अवधिमा मंगन जिल्लामा धेरै विकासका कामहरू भएको र यहाँको सडक मार्गको पनि विस्तार भएको जानकारी गराए। 25 वर्षको सरकारको कार्यकालमा निर्माण नहुन सकेको सडक एसकेएम सरकार आउनसाथ निर्माण गरेर स्थानीयहरूलाई सुविधा प्रदान गरेको अवगत गराए। एसडीएफको कार्यकालमा मंगनमा कुनै राम्रो काम नगरेको पनि मन्त्री लेप्चाले आरोप लगाए।
