– स्थानीयहरूद्वारा जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट
खरसाङ, 20 दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी बजारदेखि घुम्ती कमान हुँदै जंगपाना चियाबारी जाने रोडको मरमत्ति कार्य आजदेखि शुरू भएको छ। महानदी बजारदेखि जंगपाना चियाबारीसम्म जम्मा साढ़े 5 किलोमिटरसम्मको रोड मरमत्तिको कार्य थालिएको हो।
महानदीदेखि घुम्ती चियाबारी हुँदै जंगपाना चियाबारी पुग्ने सड़कको अवस्था अत्यन्तै जीर्णावस्थामा पुगेको थियो। त्यसर्थ उक्त जीर्ण रोडको अवस्था देखेर जीटीएको मुख्य कार्यपाल अनित थापाले मरमत्ति गरिदिने वचन दिए अनुसार आजदेखि उक्त रोडको मरमत्ति कार्य थालिएको छ। रोडको मरमत्ति गर्न आज विधिवत रूपमा पूजा अर्चना गरियो।
शिलान्यास कार्यमा जंगपाना चियाबारीका मुख्य प्रबन्धक रबिन्द्रसिंह चौधरी, लेखापाल अजित शर्मा, भागोप्रमो ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, जंगपाना चियाबारी शाखाको सन्तोष गुरूङ, भागोप्रमो जंगपाना चियाबारी शाखाको सचिव रूस्तम गुरुङ, सह सचिव अविनाश गुरुङ र अन्यहरू उपस्थित रहेका थिए।
रोडको मरमत्ति कार्यको बारेमा पत्रकारहरूसित बोल्दै भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरूङले जीटीएको मुख्य कार्यपाल अनित थापा जंगपाना भ्रमणमा आएको बेला यो रोडको जीर्णावस्था देखेर मरमत्ति गरिदिने वचन दिएका थिए भन्दै सोही वचन अनुसार आजदेखि यो रोड मरमत्तिको कार्य थालिएको बताए। उनले उक्त रोडको मरमत्तिको लागि सम्पूर्ण जंगपाना चियाबारी र यहाँका विभिन्न संघ संस्थाहरू, समाज, स्थानीय जनता र भागोप्रमो शाखाको पक्षबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार/हनोक
