खरसाङ, 11 दिसम्बर (हि.स.)। दुधे लिम्बू ट्राइबल एसोसिएसन मार्गरेट्सहोप रिङटाङ शाखाको तत्वावधानमा त्योङ्सी सिरिजङ्गा सिङ थेबेको ३१९औं जन्म जयन्ती साथै मार्गरेट्स होप बस्तीका ९ जना युवा-युवतीलाई सम्बर्द्धना जनाइयो।
कार्यक्रममा पश्चिम बङ्गाल लिम्बू विकास बोर्ड, बिजनबारी शाखाका सदस्य केबी लिम्बू, सिक्किम सरकारका अवकाशप्राप्त अभियन्ता एसआर सुब्बा, भूतपूर्व प्रधान अध्यापक एसआर मोक्तान, कालू बस्ती निवासी डीएलओ दावा तामाङ, मार्गरेट्स होप चियाबगानका प्रबन्धक प्रशान्त कुमार आले, नसिब सुब्बा आदि उपस्थित थिए।
कार्यक्रममा मार्गरेट्स होप बस्ती गाउँका विभिन्न सरकारी विभागहरुमा कार्यरत 9 जना युवा युवतीहरु क्रमैले बिजुली विभागमा कार्यरत् अभियन्ता सुरक्षा सुब्बा, घुम्ती नयाँ बस्तीका प्राध्यापक रतिका सुब्बा, कल्याणी सुब्बा, प्रेरणा सुब्बा, प्राध्यापक डा सलिम सुब्बा, सुदिप सुब्बा, निरज सुब्बा, पीएससी परीक्षा उतीर्ण रजनी सुब्बा अनि प्रणिता राईलाई सम्बर्द्धना जनाइयो।
कार्यक्रममा मुख्य अतिथि एसआर सुब्बाले आफू मार्गरेट्स होप जस्तो ऐतिहासिक भूमिमा पाइला टेक्न पाउँदा आफूलाई गौरवान्वित ठानेको बताए। उनले 1955 सालमा मार्गरेट्स होप गोलीकाण्डमा शहीद बनेका वीर विराङ्गनाहरुलाई स्मरण गर्दै आजको कार्यक्रमलाई ऐतिहासिक बताए। उनले सिरिजङ्गाको विस्तृत जीवनी पनि अघि राखेका थिए। उनले मार्गरेट्स होप चिया कमानलाई विद्वानहरुको ठाउँ बताउॅंदै सम्बर्द्धित नौजना युवा युवतीहरुलाई बधाई दिए।
कार्यक्रममा डीएलओ दावा तामाङ, नसिब सुब्बा, सम्शेर राईले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा सिमरण थामीले गीत प्रस्तुत गरिन् भने नानीहरुले नृत्य प्रस्तुत गरेका थिए।
हिन्दुस्थान समाचार/हनोक
