गान्तोक, 02 नोभेम्बर : सिक्किम विधानसभाको दुई दिवसीय सत्र बिहिवारदेखि शुरू भयो। सत्रको आज पहिलो दिन छवटा विधेयक सदनमा पेश गरियो, जसमा एउटा संशोधन र अन्य पॉंच नयॉं विधेयक सामेल छन्। उक्त विधेयकहरूमाथि भोलि सदनको दोस्रो दिन सदनमा बहस एवं मतदान हुनेछ।
आज सदनमा पेश गरिएको संशोधन विधेयकमा सिक्किम वस्तु एवं सेवा कर (संशोधन) विधेयक 2023 रहेको छ। यसैगरी, नयॉं विधेयकहरूमा गुरु पद्मसम्भव विश्वविद्यालय विधेयक 2023, एरियल रोप-वे बिल 2023, सिक्किम सरदार पटेल विश्वविद्यालय विधेयक, सिक्किम काउन्सिल फर् स्किल एडुकेशन, सिक्किम बिल 2023 र एडटेक स्किल युनिभर्सिटी, सिक्किम बिल 2023 सामेल छन्।
सत्रको शुरूवात गत 4 अक्टोबर बिहान टिस्टा नदीमा आएको बाढ़ीको चपेटमा परेर ज्यान गुमाउने मानिसहरू र प्रभावित मानिसहरूलाई विधानसभा अध्यक्ष लगायत सदनका सदस्यहरूले क्रमशः श्रद्धाञ्जली र समवेदना व्यक्त गरे।
मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधनमा बाढ़ी पीड़ित परिवारहरूलाई राहत प्रदान गर्न सरकारले अथक प्रयास गरिरहेको बताए। यस क्रममा राज्य सरकारले पुनर्वास आवास योजना र जनता आवास योजना घोषणा गर्नुका साथै प्रभावित किरायदार, विद्यार्थी र वाहन मालिकहरूलाई वित्तीय सहायता प्रदान गरेको उनले सदनमा जानकारी गराए।
