गान्तोक, 12 दिसम्बर (हि.स.)। तिब्बती धर्म गुरु परमपावन 14औं दलाई लामाले आफु सानो छॅंदादेखि नै बोधिचित्त अध्ययन एवं अभ्यास गर्दै आइरहेको बताएका छन्। अहिले पनि आफुले दैनिकरूपमा निरन्तर बोधिचित्त अभ्यास गर्ने गरेको बताउॅंदै बोधिचित्तको अभ्यासकै कारण आज 88 वर्षको उमेरमा पनि आफु मानसिक र शारीरिक रूपमा स्वस्थ रहेको बताएका छन्।
परमपावन दलाई लामाले आज (मंगलवार) बिहान राजधानी गान्तोकको पाल्जोर स्टेडियममा ‘बोधिसत्वका 37 अभ्यास’ विषयमाथि आयोजित धार्मिक प्रवचन कार्यक्रममा उक्त कुरा भनेका हुन्। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामांग, मन्त्रीगण, विधायकगण, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू लगायत सिक्किम अनि राज्य बाहिरबाट आएका हजारौंको संख्यामा श्रद्धालुहरू उपस्थित थिए।
परमपावन दलाई लामाले आफ्नो आशीर्वचनको क्रममा सबैलाई दैनिक जीवनमा बोधिचित्तको अभ्यासमाथि बल दिए। बोधिचित्तले मनलाई शान्त राख्दछ र शान्त मन नै सुस्वास्थ्यको स्रोत रहेको उनले बताए। उनले अघि भने, ‘बोधिचित्तको अभ्यासले आफुलाई राम्रो गर्नुका साथै अरूहरूको पनि कल्याण सुनिश्चित गर्दछ। बोधिचित्तको अभ्यास भनेको पवित्र सोच हो।’
उनले भने, ‘म बिहानदेखि बोधिचित्त अपनाउॅंछु। धरतीदेखि आकाशसम्मका सबै प्राणीहरूको हित र कल्याणको सोच राख्दछु। यो नै बोधिचित्त हो। एक अर्कासॅंग लडाई नगर्नु, नराम्रो विचार/भावना नराख्नु, रिस—राग नगर्नु, आफुलाई नराम्रो गर्नेहरूप्रति पनि राम्रो भावना राख्नु र सबैसॅंग मिलेर बस्नु नै बोधिचित्तको अभ्यास हो।’ उनले अरूहरूको हित र कल्याण हुने भावना जन्माउनु पर्छ भने यसलाई नै धर्मको भाषामा बोधिचित्त भन्दछ भनी बताए।
उनले मानिसहरू राम्रा-नराम्रा हुन्छन्, तर सबैप्रति समान भावना राख्नु, सद्भाव राख्नु र सबैप्रति निष्पक्ष बन्नु नै बोधिचित्तको अभ्यास रहेको बताए। उनले अझ भने, ‘बोधिचित्तले जीवन उज्यालो र सार्थक बन्दछ। बोधिचित्तले मनलाई शान्त राख्छ भने मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउॅंछ। बोधिचित्तको अभ्यासले जीवन आनन्दमय बन्छ।’ बोधिचित्तको अभ्यासले संसारको अन्धकारबाट मुक्ति प्राप्त गर्न सकिने पनि परमपावन दलाई लामाले आफ्नो प्रवचनमा बताए।
उल्लेखनीय छ, परमपावन दलाई लामा तीन दिवसीय भ्रमणमा हिजो, सोमवार सिक्किम आइपुगेका छन्। उनी 14 दिसम्बरका दिन सिक्किममा फर्किने छन्।
हिन्दुस्थान समाचार/बिशाल
