गान्तोक, 11 दिसम्बर (हि.स.)। आध्यात्मिक गुरु परमपावन 14औं दलाई लामा आज (सोमवार) चार दिवसीय भ्रमणमा सिक्किम आइरहेका छन्। उनी 12 दिसम्बरका दिन राजधानी गान्तोकमा आयोजन गरिने एक धार्मिक प्रवचन कार्यक्रममा सामेल हुनेछन् भने 14 दिसम्बरका दिन सिक्किमबाट फर्किने छन्।
परमपावन दलाई लामाको आगमनलाई लिएर राज्यमा व्यापक तयारी गरिएको छ। उनको दर्शन गर्न र धार्मिक प्रवचन कार्यक्रममा भाग लिन सिक्किमका छवटै जिल्ला लगायत राज्य बाहिरबाट पनि धेरै संख्यामा अनुयायीहरू उपस्थित रहने बताइएको छ। यस विषयलाई ध्यानमा राख्दै कड़ा सुरक्षा व्यवस्था र ट्राफिकको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै तयारीहरू पूर्ण गरिएका छन्।
भोलि, 12 दिसम्बरका दिन राजधानीको पाल्जोर स्टेडियममा परमपावन दलाई लामा एक धार्मिक प्रवचन कार्यक्रममा सहभागी बनेर अनुयायीहरूलाई आर्शीवचन दिने छन्। यस अवसरमा ‘बोधिसत्वका 37 अभ्यासहरू र बोधिसत्व उत्पन्न गर्ने समारोह’ माथि आफ्नो प्रवचन राख्ने छन्। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, क्याबिने मन्त्रीहरू, विधायकगण लगायत अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहनेछन्। उनी 13 दिसम्बरका दिन विश्राम गरेपछि 14 दिसम्बरका दिन सिक्किमबाट फर्किने छन्।
उल्लेखनीय छ, परमपावन दलाई लामा यसै वर्ष गत अक्टोबर महिनामा सिक्किम आउने निर्धारित थियो। सिक्किम सरकारले उनको आगमनको निम्ति सम्पूर्ण तयारी गरिसकेको थियो। तर, 3/4 अक्टोबर राति टिस्टा जल प्रलयका कारण उनको कार्यक्रम स्थगित गर्नु परेको थियो।
हिन्दुस्थान समाचार/बिशाल
