गान्तोक, 19 अगस्त (हि.स.)। सिक्किम विश्वविद्यालयमा अध्ययनरत् विद्यार्थी राज शेखरले नेपाली भाषा र नेपाली भाषीविरुद्ध अपमानजनक टिप्पणी गरेको घटना प्रकाशमा आएको छ। उनले एउटा आधिकारिक वाट्सएप ग्रूपमा नेपाली भाषालाई “विदेशी भाषा” भनेको अनि नेपाली बोल्न चाहनेहरूलाई नेपाल जान सुझाउ दिएको थाहा लागेको छ। यस प्रकारको गैर-जिम्मेवार र असंवेदनशील टिप्पणीको प्रेस क्लब अफ् सिक्किमले कडा भर्त्सना गरेको छ।
यस्तो टिप्पणीहरू गरिनु भनेको नेपाली भाषी समुदायका भावनामा चोट पुऱ्याउनुका साथै भारतीय संविधानले दिएको मान्यता, सांस्कृतिक चिनारी र नेपाली भाषीहरूको ऐतिहासिक योगदानको अपमान हो भन्ने प्रेस क्लब ठहर गरेको छ। नेपाली भाषा भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यताप्राप्त राष्ट्रिय भाषा हो। नेपाली भाषी भारतीय नागरिकहरूले देश सुरक्षासँगै साहित्य, प्रशासन, शिक्षा, खेलकुद र सामाजिक विकासमा अमूल्य योगदान दिएका छन्। नेपाली भाषालाई विदेशी भाषा भन्नु अज्ञानता र विभाजनकारी मानसिकताको प्रतिविम्ब हो, प्रेस क्लबले भनेको छ।
प्रेस क्लब अफ् सिक्किम पत्रकारहरूको एक जिम्मेवार संस्था भएकाले यस प्रकारको टिप्पणी भविष्यमा कसैले पनि गर्न नसकोस् साथै नेपाली भाषाको महत्त्व र मान्यताबारे सबैमा सचेतना आवोस् भन्ने चाहन्छ। यसैले सिक्किम विश्वविद्यालय प्रशासनले राज शेखरमाथि कारबाही गरोस् भन्ने माग पनि गरेको छ। यसका साथै विद्यार्थी राज शेखरले सार्वजनिकरूपमा नेपाली भाषी समुदायलाई माफी माग्नुपर्छ भन्ने माग प्रेस क्लबले आज जारी एक प्रेस विज्ञप्तिमा गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल
