– महासचिव नर्बु लामाको अगुवाइमा ९ सदस्यीय चुनाउ कमिटी गठन
दार्जीलिङ, 19 मार्च क्रामाकपा केन्द्रिय कमिटीको आज एक सभा पार्टी केन्द्रिय अध्यक्ष जेबी राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टीका वरिष्ठ नेता परामर्श समितिका अध्यक्ष आरबी राई लगायत सम्पूर्ण केन्द्रिय सदस्यहरूको उपस्थिति थियो।
आजको यस सभामा आगामी लोकसभा चुनाउमा क्रामाकपा पार्टीको अडान के कस्तो हुन्छ भन्नेबारे विस्तारित रुपमा चर्चा गरियो। उक्त सभामा गत २०१९ को लोकसभा चुनाउमा पार्टीले अलग गोर्खाल्याण्ड राज्यको निम्ति केन्द्र सरकारले स्थायी राजनीतिक समाधान गरेको वाचा अनुरुप आफ्नो संकल्प पत्रमा उल्लेखित गरेको हुँदा सरकारको अवधिभरि अहिलेसम्म अलग राज्य गोर्खाल्याण्डको निम्ति के कति काम गरियो भन्ने विषयमा पनि पार्टीले गहन समीक्षा गरेको छ।
भाजपालाई गोर्खाहरूले लगातार 15 वर्षदेखि सहयोग गर्दै आए तापनि गोर्खाहरूको दीर्घकालीन मागमाथि फैसला नहुनु दुर्भाग्य रहेको सभाले ठहर गरेको छ। वर्तमान समयमा पहाडमा देखि परिरहेको पश्चिम बंगाल सरकारको दमन, उत्पीडन र षडयन्त्र विषयमा पनि सभामा चर्चा भएको बताइएको छ।
यसका साथै यहाँका प्रमुख विपक्षी उम्मेदवारको उम्मेदवारिता लगायत लोकसभा चुनाउमा पार्टीले के कस्ता भूमिका निर्वाह गर्नुपर्ने भन्ने बारेमा पनि सभामा चर्चा गरेको छ। क्रामाकपाले आफ्नो भूमिका र अडान स्पष्ट गर्दै आगामी लोकसभा चुनाउमा तृणमूल कांग्रेस प्रार्थीलाई कुनै पनि अवस्थामा परास्त गर्नुपर्ने सभामा गहन चर्चा गरेको छ।
क्रामाकपाले गठबन्धनमा रहेका प्रमुख दल, जसले आजसम्म कुनै उम्मेदवार चयन गर्न नसकिरहेको स्थितिलाई ध्यानमा राख्दै तथा अलग राज्य आकांक्षित दलहरूसँग चर्चा गरेर लोकसभाको चुनाउबारे एउटा सामूहिक निर्णय बनाउनका लागि क्रामाकपा केन्द्रिय महासचिव नर्बु लामाको अगुवाइमा ९ सदस्य चुनाउ कमिटी गठन गरेको छ।
उक्त कमिटीले सम्पूर्ण विकल्पहरू माथि चर्चा गर्ने र आगामी चुनाउमा कसलाई साझा उम्मेदवार उठाउनुपर्ने भन्ने बारे पहाडका गोर्खाल्याण्ड पन्थी दलहरूसित चर्चा गरेर निर्णय गर्ने आजको सभाले प्रस्ताव ग्रहण गरेको छ। अब चॉंडै सबैसँग परामर्श गरेर एउटा सामूहिक र अलग राज्य गोर्खाल्याण्डको निम्ति एक इमान्दार उम्मेदवारको बारेमा अथवा यो चुनाउमा खडा गरिएका प्रार्थीलाई कसरी जिताउन सकिन्छ भन्ने कौशल तयार गर्न सबैसित परामर्श गरिने प्रस्ताव गरिएको जानकारी प्राप्त भएको छ।
