कोलकाता, 21 मार्च लोकसभा चुनाउपूर्व गए बुधवार बिहान आयकर विभागका अधिकारीहरू तृणमूल कंग्रेस नेता स्वरूप विश्वासको घरमा खानतलासी गर्न आएका थिए। बिहीवार बिहानसम्म पनि अधकारीहरू फर्केका थिएनन्। अहिले पनि खानतलासी भइरहेको छ। स्वरूप विश्वासका दाज्यु अरूप विश्वास पश्चिम बंगालमा मुख्यमन्त्री ममता ब्यनर्जीको सरकारमा मन्त्री छन्।
आयकर विभागको सूत्रले बताए अनुसार छापामारी 16 घण्टाभन्दा अधिक समयदेखिको चलिरहेको छ। यो कारबाही दुई रियल एस्टेट कम्पनीहरूद्वारा कथित रूपमा कर (ट्याक्स) चोरी गरिएको जाँचको एक भाग हो। आयकर विभागका एकजना अधिकारीले भने, आयकर विभागको जाँच शाखाका अधिकारीहरूले स्वरूप विश्वाससित सम्बन्धित पाँचवटा ठेगानाहरूमा जाँच गरिरहेका छन्। ती ठेगानाहरूमा कतिपय न्यू अलिपुरका छन् भने कतिपय बेहाला क्षेत्रका। उनले बताए, जाँचको क्रममा मुखौटा कम्पनीहरू रहेको जानकारी प्राप्त भएको छ।
अधिकारीले बताए, दुई रियल एस्टेट कम्पनीका अधिकारीहरूको परिसरमा पनि छापामारी गरिँदैछ। छापामारीको कारबाही गए बुधवार बिहान सात बजेदेखि शुरू भएको थियो जुन अहिले पनि यथावत छ। हाल स्वरूप विश्वासका परिवारका सदस्यहरूसित लामो जाँचबुझ गरियो। यस्ता कम्पनीहरूको बारेमा खुलासा भएको छ जसको अस्तित्व केवल कागजहरूमा मात्र सीमित छ। यी कम्पनीहरूको प्रयोग धन हिनामिना गर्नको लागि गरिएको छ। यस मामिलामा जाँच जारी छ।
