गान्तोक, 14 फरवरी: सिक्किमका अस्थायी कर्मचारीहरूलाई स्थायी गराउने एसकेएम सरकारको अधिसूचना अन्तर्गत आवश्यक सबै दस्तवेज सही हुने कर्मचारीलाई यसै फरवरी महिनाभित्र स्थायीकरणको मेमोरेन्डम दिइने मुख्यमन्त्री पीएस तामाङले जानकारी दिएका छन्। सरकारले लगभग 20 हजार अस्थायी कर्मचारीलाई एकैपल्ट स्थायीकरण गर्ने जसका लागि आवश्यक पदको विवरण चाँडै सरकारमा बुझाउन सबै विभागलाई निर्देश दिइएको पनि मुख्यमन्त्रीले बताएका छन्।
सबै विभागबाट पदको विवरण सरकार समक्ष आएपछि आगामी 20 फरवरीमा बस्ने क्याबिनेट बैठकले 20 हजार पद सिर्जना गरेर अस्थायी कर्मचारीलाई स्थायी गराउने उनले बताएका छन्। आज बुधवार दक्षिण सिक्किमको मल्ली बजारमा आयोजित सिक्किम राज्यस्तरीय सोनाम ल्होछार समारोहमा बोल्दै मुख्यमन्त्रीले सरकारले 9 फरवरीमा जारी गरेको अधिसूचना गरीब परिवारका अस्थायी कर्मचारीलाई न्याय दिलाउनका लागि रहेको र यसलाई सरकारले घोषणामा मात्र सीमित नराख्ने बताए।
जानकारी गराइन्छ, 9 फरवरीको दिन रम्फूमा आयोजित अस्थायी कर्मचारी भरोसा सम्मेलनमा 31 दिसम्बर, 2023 मा सेवाकालको चार वर्ष पूरा गरेका सबै अस्थायी कर्मचारीलाई स्थायी गराउने सरकारको अधिसूचना मुख्यमन्त्रीले जारी गरेका थिए। उक्त अधिसूचनापछि विपक्षी पार्टीहरूले उठाएका प्रश्नको जबाफ दिंदै मुख्यमन्त्रीले कर्मचारीलाई दिलाएको भरोसा सरकारले फरवरी महिनाभित्रै पूरा गर्ने बताएका हुन्।
स्थायीकरणको अधिसूचनाका केही शब्दहरूमा विपक्षीका प्रश्नको जबाफ दिने क्रममा आवश्यक दस्तावेज पूरा गराने सबै अस्थायी कर्मचारी स्थायी हुने मुख्यमन्त्रीले भरोसा दिलाएका छन्। अर्कोतर्फ स्थायी गरिने कर्मचारीलाई वेतनको व्यवस्था मिलाउन विषयमा पनि सरकार तयारीमा रहेको र आगामी बजेटमा सबै विभाग अन्तर्गत अलग धनराशिको व्यवस्था मिलाइने उनले जानकारी दिएका छन्। अस्थायी कर्मचारीलाई स्थायी गराउने चार वर्षे नीति निर्धारण गर्न अघि सरकारले मुख्य सचिव लगायत अन्य विभागीय प्रमुखहरूसँग धेरै पल्ट बैठक आँकडा तयार पारेपछि नै अधिसूचना जारी गरिएको मुख्यमन्त्रीले बताए।
अर्कोतर्फ सरकारले घोषणा गरेका विभिन्न सहुलियत आगामी 25 फरवरीभित्र लाभार्थीलाई वितरण गरिने मुख्यमन्त्रीले जानकारी दिएका छन्। पाँच वर्षमा जनताको पक्षमा गरेका कार्यले एसकेएम पार्टीले आगामी विधानसभा चुनाउमा सबै सीट जित्ने निश्चित रहेको मुख्यमन्त्री बताए। जनतालाई दिएका वचन पूरा गरेको आधारमा चुनाउमा एसकेएमले प्रचार-प्रसार गर्नुपर्ने स्थिति समेत रहेको र चुनाउ जित्नु एसकेएमको लागि वान वे भइसकेको मुख्यमन्त्रीले दाबी गरेका छन्।
