जलपाईगुडी, 30 जनवरी : उत्तर बंगाल फ्रण्टियरको जलपाईगुड़ी सेक्टर अन्तर्गत 40औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ)- का सीमा जवानहरूले ट्रकबाट 44 वटा भैंसी जफत गरेका छन्। साथै पशु तस्करीको आरोपमा चारजनालाई पक्राउ गरेका छन् जसको नाम क्रमैले मोहम्मद वकिल (60), मोहम्मद सकिल (40), समिम (47) र सादेक अली (38) रहेको छ। बीएसएफले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दियो।
प्राप्त जानकारी अनुसार बीएसएफ पार्टीले एनएच-31(डी)-मा कोका कोला फ्याक्ट्री नजिक एउटा संदिग्ध ट्रकलाई रोक्यो। ट्रकको जाँच गर्ने क्रममा त्यहाँ 44 वटा भैंसी भेटियो। ट्रक चालक भैंसी लिएर गएको सम्बन्धमा कुनै वैध कागज देखाउन असमर्थ भएपछि बीएसएफले ट्रकलाई कब्जामा लियो। त्यसपछि ट्रक चालक र सहचालक सहित चारजनालाई पक्राउ गऱ्यो। पक्राउ गरिएका सबैलाई ट्रक सहित कोतवाली थानाकहाँ सुम्पिइयो।
