सिलगढी,16 जनवरी (हि.स.)। साहित्यकार प्रवीण खालिङको नयाँ निबन्ध कृति “चिया गफ” सुकुनामा आयोजित 28औँ वार्षिक दार्जीलिङ पुस्तक मेला 2024 को पहिलो दिनको विभिन्न कार्यक्रमबीच लोकार्पण गरिएको छ। नेपाल, दार्जीलिङ र सिलगढीका साहित्यकारहरूको हातबाट उक्त कृतिको लोकार्पण गरिएको छ। धरानका चर्चित कवि चन्द्र गुरुङ, इलामका साहित्यकार प्रकाश थाम्सुहाङ, समावेशी धारका दार्जीलिङे लेखक निरज थापा, सिलगढ़ीका महिला हस्ताक्षर श्रीमती लतिका जोशी र कृतिकार प्रवीण खालिङले पुस्तक लोकार्पण गरे। यसका साथै आजदेखि आगामी 20 जनवरीसम्म चल्ने 28औं वार्षिक दार्जीलिङ पुस्तक मेलामा रहेका सबै किताब दोकानहरूमा “चिया गफ” कृति उपलब्ध गराइएको छ। लेखकीय मन्तव्यमा आफ्नो कुरा राख्दै साहित्यकार खालिङले किताबमा नेपाल, दार्जीलिङ, सिक्किम र पूर्वोत्तर भारत तथा कञ्चनजङ्घाको काखकै कथा व्यथा, उकाली ओराली र जीवनको उहापोह, हाँसो रोदन प्रेम र चुनौती अस्तित्वका कुराहरूलाई समेटिएको बताए। उनले कृति पाठकको हातमा पुगिसकेको अनि त्यसको सकरात्मक र नकरात्मक जे पक्ष भए पनि राखिदिने आग्रह गर्दै पुस्तक मेलामा उपलब्ध रहेको बताउँदै किनेर पढिदिने आग्रह गरे। यसैगरि आयोजक पक्षले लोकार्पणको व्यवस्था गरिदिएकोमा आभार जनाए। उल्लेखनिय छ प्रवीण खालिङको नयाँ कृति मेन्युस्क्रिप्ट पब्लिकेशनले बजारमा ल्याएको छ भने अहिले देशभरिको निम्ति अनलाइन वितरण हाम्रो किताब घर, सिलगढी र रचना बुक्स गान्तोकले गरिरहेको छ। अर्कोतिर सिक्किम, दार्जीलिङ, कालेबुङ र सिलगढीका पुस्तक पसलहरूमा उपलब्ध रहेको छ।
हिन्दुस्थान समाचार
