खरसाङ : खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईमा सय दिने रोजगारको जबकार्डलाई लिएर सचेतना कार्यक्रम सम्पन्न भएको छ। अहिले सय दिने रोजगारको पैसा राज्य सरकारले भुक्तान गरिरहेको हुॅंदा लाभार्थीहरूको खातामा पैसा पसेको छ अथवा पसेको छैन भन्ने विषयमा जानकारी गराउँदै सचेतना कार्यक्रम गरिएको थियो।
उक्त कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत दुई क्षेत्रमा पर्ने जब कार्डधारीहरू जसको ब्याङ्क एकाउन्टमा पैसा पसेको छ उनीहरूलाई प्रमाणपत्र वितरण गरियो। साथै उनीहरूसॅंग संवाद पनि गरिएको थियो भने उनीहरूले सय दिने रोजगारको पैसा भुक्तान गरिदिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्।
यस कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, पञ्चायत सचिव प्रवीण कुमार तामाङले वक्तव्य राखेका थिए। कार्यक्रममा पञ्चायतको ईए योगेस दर्नाल, बीसीडब्ल्यु इन्स्पेक्टर एवं कार्यक्रमको पर्यवेक्षक सुजाता योञ्जन, पञ्चायत सदस्यहरू क्रमैले दिपेन्द्र तामाङ, पुष्पकुमारी प्रधान, बिनीता रसाईली पनि उपस्थित रहेका थिए।
घैयाबारी ग्राम पञ्चायत दुईमा कूल 1816 जना प्राप्तकर्ताहरूले सय दिने रोजगारको जम्मा राशि 1 करोड़ 37 लाख 35 हजार 7 सय 19 रूपियाँ भुक्तानी हुने जानकारी गराइएको छ। उक्त राशि 2021-22 र 2022-23 को सत दिने रोजगारको पैसा रहेको बताइएको छ।
कार्यक्रमको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले एकाउन्टमा पैसा नपस्नेहरूले पञ्चायत कार्यालयमा राखिएको हेल्प डेक्समा आएर सम्पर्क गरिदिन अनुरोध गरे। उनले लेवरहरूको सय दिने रोजगारको दुई वर्षदेखि पैसा केन्द्र सरकारले रोकेर राखेको आरोप लगाउॅंदै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यसपाली पैसा हालिदिएको बताए। उनले यो पैसा 1 मार्चभित्र सबैको पस्ने बताएका छन्।
