सोनादा, 27 नोभेम्बर (हि.स.)। ग्रामीण पर्यटनलाई प्रोत्साहन र बढावा दिनलाई सोनादाको नाली चउर नजिक पचास बिघा बस्तीमा भगवान बुद्धको प्रतिमा स्थापना गरिएको छ। नाली चउरको पचास बिघा बस्तीमा भगवान बुद्धको प्रतिमा बौद्ध धर्मको रीति अनुसार विधिवत् रूपमा पूजा अर्चना गरेर स्थापना गरिएको छ।
बुद्धको प्रतिमा नाली चउरको पचास बिघा बस्ती निवासी मदवाङ तामाङ अनि उनको परिवारले निर्माण गरेका हुन्। यस क्षेत्रमा पर्यटन व्यवसाय अझ फस्टाएर जाओस् भनेर भगवान बुद्धको मूर्ति स्थापना गरेको बताइएको छ। पचास बिघाको सात नम्बर डाँड़ाको प्राकृतिक मनोरम दृश्यहरू अवलोकन गर्न देश विदेशबाट पर्यटकहरू आउने गरेका छन् भने यस क्षेत्रमा पनि ग्रामीण पर्यटनलाई अझ सहायता पुगोस् भनेर विशाल मूर्ति स्थापना गरिएको बताइएको छ।
मादवाङ तामाङले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘यो मूर्ति मैले भाग्यले गर्दा बिजनबारीमा पाएँ र काम गर्नेहरू लगाएर सबै गाउँवासीको लागि यहाँ स्थापना गरेको छु। यो मेरो मात्र होइन, सबैको लागि हो।’ उनले यस क्षेत्रमा धेरै पर्यटकहरू घुम्न आउँछन् र ग्रामीण पर्यटनलाई प्रोत्साहन होस् भनेर भगवान् बुद्धको मूर्ति स्थापना गरेको बताए।
भगवान बुद्धको मूर्ति स्थापना गर्नलाई डिजाइन गर्ने कारीगर सहदेव गुरुङले यहाँ स्थापित भगवान बुद्धको मूर्ति स्थापना गर्नलाई डिजाइन गर्ने मौका पाएकोमा खुशी व्यक्त गरे। उनले यो कार्य पूरा गर्न 2-3 महिना लाग्यो भन्दै यो मूर्ति स्थापना भएपछि यसले क्षेत्रको लागि सुनमा सुगन्ध थप्ने काम भएको छ भनी बताए।
हिन्दुस्थान समाचार/हनोक
