खरसाङ, 17 अक्टोबर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले चियाबारीका श्रमिकहरूले झट्टै बोनस पाउनुपर्छ भन्ने मागमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र सुम्पेको छ। भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानको नेतृत्वमा गएको एक टोलीले चियाबारी श्रमिकहरूका हितमा उक्त ज्ञापन पत्र महकुमा शासकमार्फत् जिल्ला शासकलाई पठाएको छ।
दशैं आइसक्यो तर अहिलेसम्म पहाड़का चियाबारी श्रमिकहरूले बोनस पाएका छैनन् भन्दै सरकारले जारी गरेको अधिसूचना अनुसार 19 प्रतिशत बोनस श्रमिकहरूलाई झट्टै वितरण गरिनिपर्छ भनी माग गरिएको छ। उक्त टोलीमा भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुवास प्रधान, उपाध्यक्ष शंकर रावत, खरसाङ टाउन कमिटीका सभापति राजु शर्मा, कार्यालय सचिव प्रणय रोका, वार्ड नम्बर 19 का कुन्दन लामा आदि सामेल थिए।
ज्ञापन बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानले मधेश क्षेत्रमा 19 प्रतिशत बोनस तय भएको छ, तर पहाड़का चियाबारी श्रमिकहरूका लागि तीनवटा सभा बसेर पनि मालिकवर्ग केवल 12 प्रतिशत दिन तयार छ। त्यसैले सरकारले निकालेको अधिसूचना अनुसार पहाड़का चियाबारीहरूमा मालिकहरूले 19 प्रतिशत नै बोनस दिनुपर्छ भनी माग गरिएको बताए।
उनले भने, अब दशैं आयो, 21 अक्टोबरमा फूलपाती छ तर अहिलेसम्म श्रमिकबटहरूले बोनस पाएका छैनन्। त्यसैले सरकारको अधिसूचना अनुसार 19 प्रतिशत झट्टै बोनस वितरण गरिनुपर्छ भन्ने हाम्रो माग रहेको छ।
हिन्दुस्थान समाचार/हनोक
