गान्तोक, 28 अक्टोबर (हि.स.)। एशियाली पर्यटन मेला (एटीएफ) का सहभागीहरुले पर्यटन तथा नागरिक उड्डयन मन्त्री बीएस पन्तसॅंग आज पर्यटन भवनमा भेट गऱ्यो। एशियाली पर्यटन मेला (एटीएफ) एक असाधारण मञ्च हो जसले एशियाली देशहरूबाट पर्यटन खरिदकर्ता र बिक्रेताहरूलाई उनीहरूको नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गर्नका लागि ठूलो अवसर प्रदान गर्दछ।
मेलामा सिक्किमका 18 सरोकारवालाहरू सहभागी हुनेछन् र बुधबार ढाकाको लागि आफ्नो यात्रा शुरु गर्नेछन्। मन्त्री बीएस पन्तले सहभागीहरूलाई शुभकामना दिॅंदै उनीहरूलाई यसको अधिकतम लाभ लिन आग्रह गरे।
एसटीडीसीका अध्यक्ष लुकेन्द्र रसाइलीले आफ्नो सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि निरन्तर प्रतिबद्धता जनाएकोमा धन्यवाद दिए। उनले एशियाली पर्यटन मेला विश्वभरका सार्वजनिक, कर्पोरेट र विकास संस्थाहरूलाई एकै ठाउँमा ल्याउने यात्रा प्रदर्शनी रहेको बताए।
उनले यस प्रदर्शनी मार्फत अन्य देश, स्थान र क्षेत्रका मानिसहरुबिच सम्पर्क स्थापित गर्न अवसर रहेको बताए। बी2बी र बी2सी- मा केन्द्रित रहेको मुख्य प्रदर्शनीमा हरित पहल, समुदायमा आधारित पर्यटन मार्ट, पर्यटन सीपसम्बन्धी सम्मेलन, सेमिनार, कार्यशाला र सांस्कृतिक आदान-प्रदानलगायत अन्य अतिरिक्त कार्यक्रमहरू सामेल रहने उनले बताए।
आजको कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन विभागका सचिव प्रकाश क्षेत्री, पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त सचिव बन्दना छेत्री र विभागकी उपसचिव छुङ्कुला भोटिया पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार/बिशाल
