
सम्भाजी नगर, 15 अक्टोबर (हि.स.)। महाराष्ट्रको छत्रपति सम्भाजी नगर (पूर्वमा औरङ्गाबाद)- मा भीषण सड़क दुर्घटना भएको छ। गए अबेर राती लगभग 1 बजे एउटा ट्याम्पो र ट्रक आपस्तमा ठोक्किएर 12 जना मानिसहरूले ज्यान गुमाएको सूचना छ। उक्त दुर्घटनामा 17 जना मानिसहरू घाइते भएका छन्। यो दुर्घटना एक्सप्रेस-वेमा बैजापुर टोल प्लाजा नजिक भएको थियो।
बैजापुर पुलिस चौकी इञ्चार्ज इन्स्पेक्टर श्याम सुन्दर कवथाड़ेले उक्त दुर्घटनाको पुष्टि गर्दै भने, एक्सप्रेस-वेमा बिसाएको एउटा ट्रकलाई पछाड़िबाट तीव्र गतिमा आएको ट्याम्पोले ठक्कर दियो जसले गर्दा ट्याम्पोमा बसेका 12 जना सवारीको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा घाइते भएका 17 जनामध्ये 6 जनालाई बैजापुरको ग्रामीण चिकित्सालयमा भर्ती गरिएको छ भने अन्यलाई सम्भाजी नगर जिल्ला चिकित्सालयमा भर्ती गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरूको आश्रित परिवारलाई दुई-दुई लाख रुपियाँ अनि घाइतेहरूलाई पचास-पचास हजार रुपियाँ सहयोग राशि प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्रीले शोक सन्देशमा भनेका छन्, बिहान-बिहान सम्भाजी नगरमा भीषण दुर्घटनाको सूचनाले मन दुःखी भएको छ। मेरो समवेदना पीड़ित परिवारहरूको साथमा छ। प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
