नयॉं दिल्ली, 03 मई। कांग्रेसले आज उत्तर प्रदेशको रायबरेली र अमेठी संसदीय निर्वाचन क्षेत्रको निम्ति आफ्नो उम्मेदवारहरूको घोषणा गरेको छ। कांग्रेसको विज्ञप्ति अनुसार, राहुल गॉंधी यसपाली रायबरेलीबाट लोकसभा चुनाउ लड्नेछन्। कांग्रेसले अमेठीबाट किशोरीलाल शर्मालाई उम्मेदवार घोषित गरेको छ।
उल्लेखनीय छ, राहुल गॉंधी यस अघि अमेठीबाट चुनाउ लड्दै आइरहेका छन्। उनले पहिलोपल्ट 2004 मा अमेठीबाट चुनाउ जितेका थिए। यसपछि, लगातार तीनपल्ट अमेठीबाट चुनाउ जितेर लोकसभा पुगे। 2019 मा उनी भाजपा उम्मेदवार स्मृति ईरानीबाट पराजित भए। यद्यपि, उनले केरलको वायनाडबाट पनि चुनाउ लडेका थिए र यहॉं उनको जित भयो।
सात चरणमा हुने आम चुनाउको पॉंचौं चरणमा 20 मईमा रायबरेली र अमेठीमा मतदान हुनेछ। लामो समयसम्म उक्त दुई सीट परम्परागत रूपमा नेहरू-गॉंधी परिवारका सदस्यहरूले जित्दै आइरहेको छ। अमेठीबाट यसपाली भाजपाले केन्द्रिय मन्त्री स्मृति ईरानीलाई मैदानमा उतारेको छ।
2019 मा रायबरेलीबाट सोनिया गॉंधीले जित हासिल गरेकी थिइन्। यसपाली अमेठीबाट प्रियंका गॉंधी वाड्राले चुनाउ लड्ने चर्चा थियो। तर, कांग्रेसले यहॉंबाट शर्मालाई टिकट दिएर प्रियंका चुनाउ लड्ने अडकलबाजीमाथि विराम लगाइदिएको छ।
