नयाँ दिल्ली, 07 जुलाई (हि.स.)। ब्रिक्स शिखर सम्मेलन 2025 ले भारतको लागि ठूलो कूटनीतिक जित लिएर आयो, जब शिखर सम्मेलनको संयुक्त घोषणापत्रले 22 अप्रेलमा जम्मू र कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको कडा निन्दा गर्यो। यस आक्रमणमा 26 निर्दोष नागरिक मारिएका थिए भने धेरै घाइते भए।
संयुक्त घोषणापत्रमा भनिएको छ, ‘आतङ्कवाद कुनै पनि रूप, उद्देश्य वा औचित्यमा स्वीकार्य छैन।’ आतङ्कवादलाई कुनै पनि धर्म, जाति, राष्ट्रियता वा सभ्यतासँग जोड्न सकिँदैन र सबै आतङ्कवादी संगठनहरू र उनीहरूका समर्थकहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने कुरामा जोड दिइएको छ।
पहलगाम आक्रमणलाई ‘अत्यन्त निन्दनीय’ र ‘गम्भीर अपराध’ ठहर गर्दै ब्रिक्सले भारतमा भएको आतङ्कवादी आक्रमणको यति स्पष्ट शब्दमा निन्दा गरेको यो पहिलो पटक हो। यो बयानलाई भारतको कूटनीतिक रणनीतिको एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
ब्रिक्स नेताहरूले संयुक्त राष्ट्र सुरक्षा परिषदमा व्यापक सुधारको आह्वान दोहोर्याए। उनीहरूले भने, वर्तमान वैश्विक संस्थाहरूले अब समकालीन वास्तविकताहरू र विशेष गरी वैश्विक दक्षिणको चिन्तालाई प्रभावकारी रूपमा प्रतिबिम्बित गर्न सकिरहेको छैन। परिषद्लाई थप समावेशी र लोकतान्त्रिक बनाउन यसको संरचना परिवर्तन गर्नुपर्ने सुझाउ दिइएको छ।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले यस मञ्चबाट आतङ्कवादको मुद्दामा वैश्विक नेतृत्वलाई खुला रूपमा सम्बोधन गर्दै अप्रत्यक्ष रूपमा पाकिस्तानलाई लक्षित गर्दै अन्तरराष्ट्रिय समुदायलाई कुनै पनि भेदभाव बिना आतङ्कवाद विरुद्ध सामूहिक कारबाही गर्न अपील गरेका थिए।
प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा आतङ्कवाद विरुद्ध ‘शून्य सहनशीलता’ नीति एक मात्र विकल्प हो र यसमा कुनै सम्झौता हुन नसक्ने कुरा दोहोर्याए। उनले आतङ्कवाद विरुद्धको लडाईमा कुनै पनि देश तटस्थ रहन नसक्ने कुरामा जोड दिए।
हिन्दुस्थान समाचार / भवानी थामी
